सूर्य नमस्कार कति काइदा, मन र शरीरलाई फाइदैफाइदा

आचार्य लक्ष्मण भण्डारी, काठमाडौं : सूर्य नमस्कार सूर्यलाई अभिवादन, प्रणाम, श्रद्धा वा आभार प्र्रकट गर्ने एउटा ऋषिकालीन सभ्यताको नाम हो। सूर्य सृष्टिका मूल हुन् र जगत्का आधार पनि । सूर्यमा सबैथोक छ।

सूर्यबाट नै यो चराचर जगत्को रचना भएको भन्ने पौराणिक मान्यता त छँदै छ, विज्ञानले पनि सूर्यबाट चोइटिएर गएका अनेक खण्डहरू पृथिवीलगायतका ग्रहहरू भएको भनेर व्याख्या गरेको छ। चाहे जुन शैली र भाषामा भनिएको नै किन नहोस्, आखिर सूूर्य नै ब्रह्माण्डका मूल हुन् भन्ने विषयमा सबैैको सहमति देखिन्छ।

उनकै आशीर्वाद, प्रकाश र करुणाको प्रतिफल नै जगत निरन्तर गतिशील छ। यही मान्यतामा आधारित भएर हाम्रा पूर्वजहरूले सूर्यलाई पूज्ने, प्रार्थना गर्ने र श्रद्धा व्यक्त गर्ने संस्कार हामीलाई दिएर गएका छन्।

सूर्यलाई अघ्र्य दिने, सूर्यलाई पूज्ने, सूर्यलाई दर्शन गर्नेलगायतका विभिन्न चल्तीचलन हामीकहाँ अभ्यासमा छन्। हामीले गायत्री मन्त्र दैनिक उच्चारण, ध्यान र जप गर्ने गर्दछौँ। त्यो पनि सूर्यदेवकै आराधना हो।

सूर्य हाम्रालागि यति महत्त्वपूूर्ण छन्, कि दैनिक उनको स्मरण, दर्शन र चिन्तनबिना जीवन असम्भवजस्तै छ। सायद यही सत्यको महाबोध भएर नै हुनुपर्दछ, श्रद्धेय ऋषिहरूले हामीले गायत्री मन्त्रका माध्यमले सूर्यको ध्यान, चिन्तन र स्मरण गर्ने र शक्ति आर्जन गर्ने कुरालाई दैनिकीमै समेटिदिएका छन्।

दैनिक गायत्री मन्त्रको जप हाम्रो यही सचेतनाको निरन्तरता हो। सूर्यलाई अघ्र्य दिएर मनाइने प्रसिद्ध छठ पर्व पनि सूर्यप्रतिको निष्ठा प्रकट गर्ने विशेष पर्व हो।

सूर्यलाई प्रसन्न तुल्याउने ती अनेक विधि, विशेषता र तरिकामध्ये सूर्य नमस्कार पनि एउटा विशेष तरिका हो। समस्त सृष्टिका मूल, जागरणका आदिस्रोत एवम् समस्त ऊर्जाका पूञ्ज सूर्यदेव सकारात्मक भएमा सबैतिर सकारात्मकता छाउने र हामी स्वयम्को जीवन नै सकारात्मक हुने मान्यतामा सूर्यप्रति आफूलाई सभक्ति समर्पण गरेर नतमस्तक भई आभार व्यक्त गर्ने काम सूर्य नमस्कारका माध्यमले हुने गर्दछ।

आदित्यस्य नमस्कारान् ये कुर्वन्ति दिनेदिने ।
आयुः प्रज्ञा बलं वीर्यं तेजस्तेषां च जायते ।।

अर्थात्, जसले प्रतिदिन सूर्य नमस्कार गर्दछन्, तिनको आयु, प्रज्ञा, बल, वीर्य र तेज बढ्दछ भनेर विद्वान्हरूले भनेका छन्। घाम लाग्दा मन नै उज्यालो हुने, तर घाम नलाग्ना धुम्म हुने, मनमा पनि बादल लागेको, प्रसन्नता गुमेको अनुभूति हुनुले पनि सूर्य हाम्रालागि कति महत्त्वका छन् भन्ने कुरा स्पष्ट पार्दछ।

हाम्रा पूर्वज प्रकृतिका उपासक
त्यसो त हाम्रा सबै पर्व, चालचलन र जीवनपद्धति प्रकृतिको संवेदनशीलता ख्याल गर्ने र त्यसप्रति श्रद्धाभाव प्रकट गर्ने संस्कारमा विकसित देखिन्छन्। काग, कुकुर, गाई, पीपल, तुलसीलगायत जीवजनावर, चराचुरुङ्गी र बोटवनस्पति सबैलाई देवताकै समकक्षमा राखेर पूज्ने, श्रद्धा र आभार प्रकट गर्ने हाम्रो संस्कार छ।

वेदका मन्त्रहरूमा पनि आकाश, पानी, अन्तरिक्ष, पशुपक्षी, मनुष्य सबैसबैको शान्तिको कामना गरिएको छ। यसबाट पनि सनातन हिन्दु संस्कारका अभ्यासीहरूले प्रकृतिलाई सबैभन्दा माथि राखेका छन् भन्ने प्रमाणित हुन्छ ।

हुन पनि हो। हाम्रो शरीर पञ्चतत्त्वको प्रतिविम्ब हो। पृथिवी, जल, तेज, वायु र आकाशको सन्तुलन नै स्वस्थ जीवन र जगतको लक्षण हो। यसैले, सबैको शान्ति, सन्तुलन र सुसञ्चालन महत्त्वपूर्ण हुन्छ।

हाम्रा पूर्वजका सारा प्रयास प्रकृतिपूजनमै केन्द्रित थिए । ‘प्रकृति प्रसन्न भए मात्र हामी प्रसन्न हुन्छौँ’ भन्ने हाम्रा मनीषीहरूको चेत साँच्चै नै विशिष्ट छ। सूर्य नमस्कार पनि हाम्रा तिनै महान् मनीषीहरूको विलक्षण खोज र अनुसन्धानको उपलब्धी हो।

यो सामान्य नमस्कार मात्रै होइन, यद्यपि यसको सुरुआत नमस्कारबाटै हुन्छ र, अन्त्य पनि नमस्कारमै हुन्छ, त्यसबाहेक पनि विभिन्न आसन, बन्ध, मुद्रा र प्राणायामको पनि यसमा योग भएको हुन्छ।

सूर्य नमस्कारबाट सूर्य प्रसन्न हुनुका साथै, साधकलाई मानसिक एवम् शारीरिक स्फुर्ति, स्वास्थ्य र दीर्घजीवनको प्राप्ति हुन्छ। यसप्रकार, सूर्य नमस्कार गरेर सूर्यदेवलाई प्रसन्न तुल्याउने, आफू पनि प्रसन्न हुने र सूर्यप्रति आभार व्यक्त गर्नुका साथसाथै शरीर र मनलाई पनि स्वस्थ, सुन्दर र सुखी तुल्याउने काम गरिन्छ।

सूर्य नमस्कारका १२ चरण छन्। यसमा शक्तिशाली १२ आसनहरूको प्रयोग भएको हुन्छ। प्रत्येक चरणका आसनहरू कुनै न कुनै प्रकारले हाम्रो स्वास्थ्य र दीर्घजीवनका लागि उपयोगी रहेका छन्।

श्वासप्रश्वास, शारीरिक व्यायाम, ध्यान र मन्त्र उच्चारणको एकीकृत अभ्यासका कारण सूर्य नमस्कारका फाइदाहरू पनि अनेक छन्। थोरै समय, थोरै श्रम र थोरै शक्तिको उपयोगमा पनि सूर्य नमस्कारका सर्वाङ्गीण उपलब्धि र परिणामहरू हासिल गर्न सकिन्छ।

सूर्य नमस्कार गर्दा प्रयोग हुने आसन
१. प्रणाम आसन
२. हस्तउत्थान आसन
३. हस्तपाद आसन
४. अश्व सञ्चालन आसन
५. पर्वत आसन
६. अष्टाङ्ग नमस्कार आसन
७. भुजङ्ग आसन
८. पर्वत आसन
९. अश्वसञ्चालन आसन
१०. हस्तपाद आसन
११. हस्तउत्थान आसन
१२. प्रणाम आसन

सूर्य नमस्कारमा जसरी १२ आसनको योग भएको हुन्छ, ती आसनका माध्यमले बाह्रपटक सूर्यलाई नमस्कार गर्दा साथै बाह्र फरक–फरक नाममन्त्रहरूको उच्चारण गर्ने गरिन्छ। यी बाह्र मन्त्र सूर्यदेवकै विभिन्न नाम हुन्।

यी मन्त्र यसप्रकार छन् :
‘ॐ मित्राय नमः ।
ॐ रवये नमः ।
ॐ सूर्याय नमः ।
ॐ भावने नमः ।
ॐ खगाय नमः ।
ॐ पूष्णे नमः ।
ॐ हिरण्यगर्भाय नमः ।
ॐ मरीचये नमः ।
ॐ आदित्याय नमः ।
ॐ सवित्रे नमः ।
ॐ अर्काय नमः ।
ॐ भास्कराय नमः ।

सूर्य नमस्कारका बाह्र चरण र विधि

अब सूर्य नमस्कारका विभिन्न बाह्र चरणहरू कुन–कुन हुन् र तिनलाई कसरी सम्पन्न गरिन्छ, तिनका बारेमा चर्चा गरौँ।

पहिलो चरण

खुट्टा जोडेर सोझो उभिने, नमस्कार गर्ने, दुई हात छातीमा रहोस्। औैँलाले पनि छाती छुनुपर्ने, श्वासप्रश्वास सामान्य। ध्यान आज्ञाचक्र(निधारमा दुई आँखाका बीच) मा। आँखा बन्द । ‘ॐ मित्राय नमः’ मन्त्रले सूर्य भगवान्लाई आह्वान गर्ने।

दोस्रो चरण

सास लिँदै अर्थात् भित्र भर्दै दुवै हातलाई कान छुँदै माथि उठाउने। घुँडा नखुम्च्याई गर्धन र बाहुलाई पछाडिपट्टि झुकाउने । ध्यान गर्धनको पछाडि विशुद्ध चक्र (चिउँडो र गर्धनबीच घाँटी)मा केन्द्रित गर्ने। त्यसपछि ‘ॐ रवये नमः’ मन्त्रको जप गर्ने।

तेस्रो चरण

सास छाड्दै घुँडालाई नमुख्च्याई दुवै हातका पन्जाले जमिन छुने प्रयास गर्ने। दुवै हातले कान र गर्धनलाई स्पर्श गर्दै गरेको हुनुपर्ने छ। सकेसम्म दुवै हत्केलालाई दुवै खुट्टाको दायाँबायाँतिर जमिनमै छुवाउने। त्यसका साथै निधारले दुवै घुँडा छुने प्रयास पनि गर्ने।

ध्यान मणिपुर चक्र (नाभि वरपर) मा केन्द्रित गर्ने। केहीबेर यही अवस्थामा बस्ने। त्यसपछि ‘ॐ सूर्याय नमः’ मन्त्रको जप गर्ने।

चौथो चरण

सास लिँदै वा भर्दै दाहिने खुट्टा जति सकिन्छ, पछाडि लैजाने। त्यसपछि दाहिने घुँडाले जमिनमा छुँदै शिरलाई माथि उठाउने। देब्रे घुँडा मोडिएको हुनुपर्ने छ। हातका पन्जा देब्रे गोडाको सीधा जमिनमाथि हुनुपर्ने छ। त्यसपछि शरीरलाई हातका पन्जाको बलमा माथि उठाउने। ध्यान स्वाधिष्ठान(नाभि र गुप्ताङ्गको बीच) अथवा विशुद्ध चक्रमा स्थिर गरी केही बेर रहने। त्यसपछि ‘ॐ भानवे नमः’ मन्त्रको जप गर्ने ।

पाँचौँ चरण

सास छोड्दै देब्रेलाई जस्तै दाहिने गोडालाई पनि पछाडि लाने र अगाडि सीधा हेर्ने। मेरुदण्ड र पृष्ठप्रदेश अथवा नितम्ब जतिसक्दो सीधा बनाउने र माथि हेर्ने। ध्यान सहस्रार (टाउकोमा टुप्पी रहने स्थान) चक्रमा केन्द्रित गर्ने प्रयास गर्ने। त्यसपछि ‘ॐ खगाय नमः’ मन्त्रको उच्चारण गर्ने।

छैटौँ चरण

श्वासप्रश्वास सहज र सामान्य अवस्थामा राख्दै झुकेर आफ्नो घुँडा, छाती, निधार र हातका पन्जाले जमिनमा छुने। पेटले भने जमिनलाई स्पर्श गर्न नपाओस् भन्ने कुरामा सचेत रहने। यसैलाई साष्टाङ्ग नमस्कार भनिन्छ। अप्ठ्यारो भए पनि बारम्बारको अभ्यासले यो सम्भव हुँदै जान्छ। ध्यान अनाहत चक्र (हृदय, छाती)मा केन्द्रित गर्ने। त्यसपछि ‘ॐ पूष्णे नमः’ मन्त्रको उच्चारण, जप गर्ने ।

सातौँ चरण

सास लिँदै वा भित्र भर्दै दुवै हातको सहारामा शरीरको अगाडिको भाग (छाती, पेट, टाउको) ले जतिसक्दो आकाशतिर हेर्दै पछाडि लैजाने। यो अवस्थामा घुँडाले भने जमिन छोएको हुनुपर्ने छ। मूलाधारलाई खिच्दै त्यहीँ ध्यान केन्द्रित गर्ने र
‘ॐ हिरण्यगर्भाय नमः’ मन्त्रको जप गर्ने।

आठौँ चरण

खुट्टा र हातलाई सम्पूर्ण रूपमा जमिनमा राख्दै सास छोड्दै बाँकी शरीरलाई पिरामिडको आकारमा माथि उठाउने। टाउको दुवै काँधको बीचमा हुनुपर्ने छ। नाभी देखियोस्, कुर्कुच्चाले जमिन छोओस्। ध्यान सहस्रार चक्रमा केन्द्रित गर्ने। त्यसपछि ‘ॐ मरिचये नमः’ मन्त्रको उच्चारण, जप गर्ने।

नवौँ चरण

सास लिँदै वा भित्र भर्दै देब्रे घुँडालाई जमिनमा राख्नुस्, दाहिने खुट्टाको घुँडा खुम्च्याएर अगाडितिर तान्नुस्। दुवै हात दाहिने पन्जाको सीधा जमिनमाथि राख्नुस् । यो अवस्था चौथो अवस्थासित मिल्छ। ध्यान स्वाधिष्ठान तथा विशुद्ध चक्रमा । मुखको अवस्था सहज र सामान्य। ‘ॐ आदित्याय नमः’ मन्त्रको उच्चारण र जप गर्ने।

दसौँ चरण

सास छोड्दै देब्रे खुट्टाको सामुन्ने दाहिने खुट्टानजिक ल्याउनुस् र झुकेर घुँडा नखुम्च्याई जमिन छुने कोसिस गर्नुस्। तेस्रो अवस्थाजस्तै यस अवस्थालाई पादहस्त आसन भनेर भनिन्छ। ध्यान मणिपुर चक्रमा होस्। अन्त्यमा, ‘ॐ सवित्रे नमः’ मन्त्रको उच्चारण, जप गर्नुस्।

एघारौँ चरण

सास लिँदै दुवै हात सीधा माथि उठाउनुस् र, दोस्रो अवस्थामा जस्तै घुँडा नखुम्च्याई पछाडितिर झुक्नुस्। ध्यान विशुद्ध चक्रमा । ‘ॐ अर्काय नमः’ मन्त्रलाई सप्रेम जप गर्नुस्, उच्चारण गर्नुस्।

बाह्रौँ चरण

सास छोड्दै पहिलो अवस्थामा जस्तै हातहरूलाई नमस्कारको मुद्रामा छातीमा राखी सीधा उभिनुस्। यससँगै सूर्य नमस्कारको एउटा चक्रको क्रम समाप्त हुन पुग्छ। यसबीचमा सूर्य नमस्कारका बाह्र चरण पूरा भएका हुन्छन्। पहिलोबाट बाह्रौ अवस्थामा आइपुग्दा हाम्रो शरीरको अवस्था पुनः पहिलो चरणकैजस्तो हुन्छ। यतिबेला ‘ॐ भास्कराय नमः’ मन्त्रको जप, उच्चारण गर्नुपर्ने हुन्छ।

सूर्य नमस्कार गर्दा विचार गर्नुपर्ने कुरा

सूर्य नमस्कार धेरै कोणबाट अत्यन्त उपयोगी भए पनि कतिपय अवस्थामा यसका बेफाइदा पनि छन्। जसको रक्तचाप उच्च छ, त्यस्तो व्यक्तिका लागि सूर्य नमस्कार राम्रो मानिँदैन। यसले लाभका ठाउँमा हानी गर्ने सम्भावना हुन्छ। त्यस्तै गरी हृदयसम्बन्धी अथवा मुटुसम्बन्धी समस्याले ग्रस्त व्यक्तिका लागि पनि सूर्य नमस्कार राम्रो मानिएको छैन।

हृदयसम्बन्धी रोग भएका बिरामीले सचेत भएर वा योग्य योगशिक्षकको परामर्शमा मात्रै सूर्य नमस्कारको अभ्यास गर्नुपर्ने हुन्छ। अल्सर भएका बिरामीका लागि पनि सूर्य नमस्कार लाभकारी मानिँदैन। सूर्य नमस्कार गर्दा थप समस्या बढेर जाने खतरा हुन्छ भनेर योगज्ञहरूले बताएका छन्।
त्यस्तै, मेरुदण्ड र कम्मरको समस्याले ग्रस्त व्यक्तिले पनि सूर्य नमस्कारमा विचार पु¥याउनुपर्ने हुन्छ। सकेसम्म सूर्य नमस्कारको अभ्यास नगर्ने, यदि गरी नै हाल्दा पनि अत्यन्त योग्य र अनुभवी योगप्रशिक्षकसितको सल्लाह र परामर्शमा मात्रै अभ्यास गर्दा उचित हुन सक्छ।

यसबाहेक असाध्य रोग लागेका, बुढाबुढी, मन प्रसन्न नभएका, अशक्त र पूरा शरीर नै मलमूूत्रले भरिएका व्यक्तिहरूले पनि सूर्य नमस्कार गर्नुहुँदैन।

सूर्य नमस्कारका फाइदै फाइदा

सूर्य नमस्कारका यी बाह्र चरण नियमतिरूपले सम्पन्न गर्ने व्यक्ति विभिन्न प्रकारका मनोशारीरिक समस्याबाट मुक्त हुन पुग्दछ।

सूर्य नमस्कारको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यसको नियमित अभ्यासका कारण आसन, प्राणायाम र शारीरिक व्यायाम गर्दा जेजति फल प्राप्त हुन्छ, त्यो यही बाह्र चरणको सूर्य नमस्कार विधिबाट प्राप्त हुन्छ। तसर्थ, यसमा सबै काम एकै पटक हुने व्यवस्था गरिएको छ।

सूर्य नमस्कार गर्ने व्यक्ति अल्छी हुँदैन, रोगी हुँदैन। शरीर सदा स्वतस्फूर्त रहन्छ। काममा जाँगर चल्छ। केही न केही गरूँगरूँ भन्ने स्वभाव विकसित भएर जान्छ। शरीरमा बल र साहस वृद्धि भएर जान्छ, शारीरिक शक्तिको विकास हुन्छ।

सूर्य नमस्कारको अर्को फाइदा, यसबाट छालाका समस्या वा रोग लगभग समाप्त भएर जान्छन् भने रोग लाग्नबाट समेत बचाउँछ, यसले। रक्त सञ्चारको सहज प्रक्रियाका कारण पनि छालामा दोषहरू देखा पर्न पाउँदैनन्। शरीरको समग्र कोष पुष्ट हुने अवसर प्राप्त हुन्छ।

आज कब्जियत सबैभन्दा ठूलो महामारी र असभ्यताका रूपमा देखिएको समस्या हो। पेटको मोटोपन बढ्नबाट जोगाउने र कब्जियत समाप्त पार्ने काम सूर्य नमस्कारको अर्को विशेषता हो। यसको अभ्यासले कब्जियतलगायतका समस्त रोग समाप्त भएर जान्छन्।

पाचन संस्थानहरू सक्रिय हुन पुग्दछन्। पाचनप्रणाली सुस्त, दुरुस्त र चुस्त हुन्छ भने खाना मिठो भएर जान्छ। पाचनसम्बन्धी समस्या न्यून हुँदैन जान्छन्। शरीरका सम्पूर्ण नसानली, नशनाडी सबै शुद्ध र सक्रिय भएर जान्छन्। अतिनिद्रा र आलस्य समाप्त भएर जान्छ र व्यक्ति हमेसा तरोताजा रहन्छ।

शरीरमा लचकता पैदा हुन्छ। आसन गर्नुपर्दा सहज सजिलोसित शरीर मोड्न सकिन्छ। शरीर चलायमान र गतिशील हुन्छ । बढेको शरीरको तौल कम हुँदै जान्छ। सुगठित शरीरका लागि वातावरण तयार हुन्छ। शरीरका विभिन्न मुद्राहरूमा पनि परिवर्तंन आउँछ। बिग्रिएको पाचनप्रक्रियामा सुधार आउँछ ।

सूर्य नमस्कारले शरीरका मांशपेसीहरूमा एक प्रकारको सकारात्मक प्रभाव छोडेको हुन्छ भने हड्डीहरू बलिया भएर जान्छन्। अनावश्यक तनाव मस्तिष्कमा पैदा हुन पाउँदैन। तनाव नियन्त्रणका लागि ठूलोे फाइदा हुन्छ। कब्जियतसँगै पायल्सको उपचारमा पनि सूर्य नमस्कारको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।

कति मानिस निदाउन नपाएर दुःखी हुन्छन्। सूर्य नमस्कारले मिठो निद्रा प्रदान गर्नुका साथै अनिद्राको महारोगबाट पनि मुक्त गरिदिन्छ। महिलाहरूको मासिक धर्म नियमित हुन पुग्दछ। मनको एकाग्रता बढेर जान्छ। मानिसहरूमा अन्र्दृष्टिको विकास हुन पुग्दछ।

यसप्रकार, ‘बहुजन सुखाय, बहुजन हिताय’ अर्थात् सबैको सुख र कल्याणको पवित्र मनोभावनाका साथ हाम्रा दिव्य महामनीषीहरुले विकास गर्नुभएको ‘सूर्य नमस्कार’ हाम्रालागि विशेष उपहार हो । आउनुस्, हामी पनि सूर्य नमस्कार गरौँ, सूर्यदेवप्रति आभार र श्रद्धा प्रकट गरी मनलाई प्रसन्न बनाऔँ र त्यसक्रममा प्रयोग हुने आसनका माध्यमले शारीरिक स्वास्थ्य लाभ गरौँ । मानसिक र शारीरिक स्वास्थ्यका दृष्टिले बलियो जीवन आजको आवश्यकता पनि हो, र त्यो सूर्य नमस्कारबाट सम्भव छ।  EMAIL : [email protected]