फूल, यौवन र म : कबिता

कबिता : ए फूल !
तँ जस्तै हरेक बिहान म पनि फुल्छु
दिउँसो यौवनको रातो उन्मादमा
दुनियाँलाई तैले लोभ्याइ रहँदा
मलाई कुनै लाशमाथि
कैले कुनै मन्दिरमा
कुनै मूर्तिमाथि माला बनाएर
कैले कुनै देवको पाउमा दासी बनाएर
मलाई बारबार चुँड्याइन्छ ।
ए फूल !
तैले यस धर्तीमा आफ्नो
रक्तिम आभा छरिरहँदा
तैले आफू हुनुको उपस्थिति जनाइरहँदा
मलाई त म हुनुको आभास समेत हुन दिइन्न
ए फूल !
सायद तँ भन्दा म धेर सुन्दर भए क्यारे
तेरो सौन्दर्यलाई मात दिने म जन्मे क्यारे
तैले भन्दा धेरै मैले सुवास छर्न सकेँ क्यारे
हेर त फूल !
तँ तेरै बगैँचामा ढकमक्क छस्
तँ तेरै मालीसँग आनन्दित छस्
म मेरै मायामा सुरक्षित छैन
ए फूल!
म भन्दा तँ धेरै भाग्यमानी
म भन्दा तँ धेरै स्वाभिमानी
बरु तेरो नाम छ यो दुनियाँमा
तेरो रङ छ यो दुनियाँमा
तर मैले त जोसँग भए नि उस्तै हुनुपर्ने
जस्तो बनाए उस्तै बन्नुपर्ने
दुस्ख, पीडाको जुन रङमा मिसाए नि मिसिनुपर्ने
मेरो आत्मसम्मानको पत्रपत्रै च्यातिँदा
म छरपस्ट भएर छरिनु पर्ने
मेरो स्वाभिमानलाई किल्चिँदा
म मौन बसिदिनु पर्ने
मेरो इज्जतको हिसाब लगाउँदा
चुपचाप आँसुले सिरानी भिजाउनु पर्ने
ए फूल !
हेर त आज पनि
म भन्दा तँ कति धेरै भाग्यमानी
म भन्दा तँ कति धेरै स्वाभिमानी ।।

सिन्धुजा गजुरेल