अर्किड स्कूल, भरतपुरमा ‘चितवनको चिनारी’ प्रोजेक्ट (फोटोफिचर)

चितवन : अर्किड स्कूल, भरतपुरमा ‘चितवनको चिनारी’ प्रोजेक्ट सम्पन्न भएको छ। कक्षा पाँचका विद्यार्थीहरुद्वारा आयोजित ‘चितवनको चिनारी’ प्रोजेक्टमा १२२ जना प्रत्येक विद्यार्थीले सामाजिक अध्ययन अन्तर्गत चितवन जिल्लाको विभिन्न पर्यटकीय, ऐतिहासिक र धार्मिक तथा सांस्कृतिक सम्पदा जस्तै: चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, उपरदाङ गढी, देवघाटधाम आदि स्थलहरुको तस्वीरसहित विस्तृत विवरण समेटेर तयार पारिएको छुट्टाछुट्टै फाइल (डोसियर) विद्यालय प्राङ्गणमा प्रदर्शन गरिएको थियो। 

सञ्चालक समितिका अध्यक्ष गोपाल पराजुलीद्वारा समुद्घाटन गरिएको उक्त प्रदर्शनी विद्यालयका १५०० विद्यार्थी र ८० जना शिक्षकहरुले प्रत्यक्ष रुपमा अवलोकन गरेका थिए। उत्कृष्ट १५ विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो भने ‘सर्वोत्कृष्ट तीन’ विद्यार्थीहरुलाई विशेष पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो। साथै उक्त ‘सर्वोत्कृष्ट तीन’ फाइलहरु अर्किड स्कूलका पाँच ‘लिंक स्कूल’ मध्ये क्रमशः एपेक्स स्कूल, बुटवल; नवोदय शिशु सदन, हेटौंडा र मोनाष्टिक स्कूल, जनकपुरमा पठाइएको छ। उक्त विद्यालयका सोही कक्षाका विद्यार्थीहरुसँग सहकार्यका निम्ति ‘सर्वोत्कृष्ट तीन’ प्रोजेक्ट फाइलहरु पठाइएको सह-प्राचार्य ओमराज मैनालीले बताएका छन्।
‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत टेवा पुग्ने किसिमको प्रोजेक्ट ‘माइ डिस्ट्रिक्ट इन द बक्स’ कार्यक्रम शिक्षिकाद्वय दीपा भट्टराई र सम्झना सुवेदीको संयोजकत्वमा भएको थियो।