भरतपुर अस्पतालमा सुत्केरी गराउनेको संख्यामा वृद्धि

चितवन : चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म चार महिनाको अवधिमा भरतपुर अस्पतालवाट ५ हजार ३२८ जनाले सुत्केरी सेवा लिएका छन् । त्यस्तै, चार वर्ष चार महिनामा भरतपुर अस्पतालवाट ५७ हजार ३५६ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५\७६ मा सबैभन्दा बढी १३ हजार ५४५ जनाले सुत्केरी सेवा लिएका छन् भने आव २०७५\७६ मा चार हजार ६७ जनाको औजार प्रयोग गरी सुत्केरी गराएका छन् । सोही वर्ष ४१७ जनाले शल्यक्रियाबाट शिशु जन्माएका थिए ।

नौ हजार ६१ जना सामान्य सुत्केरी भएका छन् । आर्थिक वर्ष ०७४\०७५ मा १३ हजार ५ सय २५ जनाले सुत्केरी सेवा लिए । यो वर्ष सामान्य सुत्केरीको संख्या नौ हजार २८२ छ । औजार प्रयोग गरी शिशु जन्माउनेको संख्या तीन हजार ४३७ र अप्रेसनबाट शिशु जन्माउनेको संख्या ८०७ रहेको छ ।

आर्थिक वर्ष ०७३\०७४ मा सुत्केरी सेवा लिनेको संख्या १२ हजार ९८० छ भने आवको ०७२\०७३ मा सुत्केरी सेवा लिनेको संख्या ११ हजार ९७८ रहेको थियो । अस्पतालमा दिनानुदिन सुत्केरी गराउनेको संख्यामा वृद्धि भए पनि सुत्केरीको लागी चाहिने पर्याप्त बेड र जनशक्ति भने अभाव रहेको कन्सल्टेन्ट ग्यानोलोजिस्ट बिभाग प्रमुख डा. सुनिलमणि पोख्रेलले सौराहा अनलाइनलाई जानकारी दिनु भयो ।

दैनिकजसो ५० जना भन्दा बढीको हाराहारीमा सुत्केरी गराउन आउने भए पनि अस्पतालले छुट्टयाइएको बेड नै पर्याप्त नभएकोले यस्मा अस्पताल प्रशासन गम्भीर हुनुपर्ने उहाँको भनाई छ । ‘भरतपुर अस्पताल सुत्केरीको प्रभावकारी सेवा दिने अस्पतालको रुपमा परिचित हुँदै गएको छ, यसलाई अझ प्रभावकारी बनाउन अस्पताल लाग्दै आएको छ । ‘चालु वर्षमा मातृ मृत्युदर छैन, गत वर्ष चार जनाको आमाको मृत्यु भएको तथ्यांकमा देखिन्छ ।