पहाडमा हिमपात र मुलुकभर चिसो बढ्ने

काठमाडौं ; बिहीबारदेखि मुलुकभर चिसो बढ्ने भएको छ। पश्चिमको उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार साँझ पश्चिमी भू-भागबाट न्यून चापीय प्रणालीको प्रवेशका कारण केही भागमा हिमपातसहित मुलुकभर चिसो बढ्ने महाशाखाले जनाएको छ।

हिमपात र चिसो बढ्नेक्रम शनिबारसम्म रहने महाशाखाले जानकारी गराएको छ। महाशाखाका अनुसार यो प्रणाली अझ सशक्त भएर देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमासमेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

उक्त प्रणालीका कारण देशभरी बदली भई अधिकतम र न्यूनतम तापक्रममा घटेर देशभर चिसो बढ्नेछ। साथै, यस प्रणालीका कारण देशका पश्चिम भू-भागका अधिकांश स्थान, मध्य र पूर्वी भू-भागका केही स्थानमा हलका वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुनसक्ने र पहाडी भेगमा वर्षा हुने, साथै तापक्रममा गिरावट आउने सम्भावना रहेको कारणले सबैले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।