टिस्टुङमा रहेको मन्दिर अहिले जीर्ण बन्दै

टिस्टुङ
वरिपरि डाँडाकाँडा । प्राकृतिक दृश्यले सजिएको एउटा खोंच । त्यही सतहमा लिच्छिवीकालीन मन्दिर । हेर्दै आकर्षक र सुन्दर लाग्ने बज्रबाराही । जो–कोही यहाँ पुग्यो भने पनि आनन्दित हुन्छन् ।

मकवानपुरको थाहा नगरपालिका–६ स्थित टिस्टुङमा रहेको उक्त मन्दिर अहिले जीर्ण बन्दै गएकाले संरक्षणको पर्खाइमा छ । नागरिकको रक्षा तथा मनोकामना पूरा हुने जनविश्वासका साथ स्थानीयवासीले यहाँ खेतबारीमा उब्जिएका नयाँ बाली चढाउने परम्परा छ । मङ्सिर पूर्णिमाका दिन भव्य मेला लाग्ने गरेको छ । यहाँको मुख्य विशेषता भनेको १२ वर्षे मेला हो ।

उक्त स्थान एउटा महत्वपूर्ण शक्तिपिठ भएकाले मन्दिरप्रति धेरै मानिसको आस्था पाइएको छ । बाराहीको जङ्गललाई व्यवस्थित गर्न सामुदायिक वन गठन गरिएको छ । वनको घाँस दाउरा लगेमा घरमा अनिष्ट हुने जनविश्वासले गर्दा स्थानीयवासी कसैले पनि लुकीचोरी पातसमेत टिप्न डराउँछन् । कसैको दाहसंस्कारमा आवश्यक परेमा वनबाट दाउरा काट्न सकिन्छ ।

मल्लकालीन शिलालेख र मानव विकासका क्रममा प्राचीन सभ्यता रहेको मानिएको बज्रबाराहीले यसपटक राजधानीका कलाकारको समेत ध्यान तान्यो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) का कुलपति केके कर्माचार्यको नेतृत्वमा गएको राष्ट्रियस्तरका १७ कलाकारले स्थलगतरुपमै यहाँको मौलिक संस्कृति, धार्मिक क्षेत्र, स्थानीय सम्पदा, पर्यटकीय गन्तव्य क्षेत्र र दृश्यलाई क्यानाभासमा कैद गर्नुभयो ।

‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवद्र्धन गर्ने उद्देश्यले नाफाले आयोजना गरेको टिस्टुङ–बज्रबाराही स्थलगत चित्र–सिर्जनामार्फत कलाकारले पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याएको स्थानीय कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले प्रतिक्रिया दिनुभयो । ती कलाकृतिलाई सोही वडामा प्रदर्शनसमेत गरी तिनलाई महत्वपूर्ण पर्यटकीयस्थलमा सजाएर पर्यटकलाई त्यस क्षेत्रको सूचना तथा सन्देश दिइनेछ ।

स्थलगत चित्र सिर्जनमा बज्रबाराही तथा त्यस आसपास क्षेत्रको भेगलाई समेटेर विभिन्न कलाकारले चित्र दृश्य (क्यानाभास)ले चित्रमा रमाउने पारखीका लागि मात्र नभएर सबैको मन जितेको छ । नाफा, चित्रकला विभागका प्रमुख सुष्मा राजभण्डारीले मन्दिरमा रहेको शिवलिङ्गलाई आधार बनाएर सिर्जना गरेको कलाले स्थानीय गाउँलेको मन जितेको थियो । विभिन्न जाति तथा समुदायले भरिएको टिस्टुङ काठमाडौँको मातातीर्थबाट २६ किलोमिटरको दूरीमा रहेको भए पनि पूर्वाधार विकास निर्माणमा गति लिन नसकेको अवस्थामा स्थानीय जनजीवनका साथै सम्पदा, संस्कृतिलाई प्रवद्र्धन गर्न कार्यशाला गरिएको उहाँले बताउनुभयो ।

यहाँ घुम्न आउने पर्यटकलाई पूर्वाधार विकासका साथै पर्यटन क्षेत्रको विकास हुने उहाँले बताउनुभयो । त्रिभुवन राजपथको मार्ग भएर करीब ७० किलोमिटरको दूरीमा यहाँ पुग्न सकिन्छ । नाफाका कुलपति कर्माचार्यले प्राकृतिक सौन्दर्य कलाकारले सिर्जना गर्ने स्थानीय विषयवस्तुले आसन्न भ्रमण वर्षमा पर्यटकलाई यहाँका रमणीय स्थलकाबारे ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै यसले पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने बताउनुभयो ।

उहाँले सडकका किनारमा राम्रो चित्र कोरेर सजाउन सकेमा पर्यटकले यात्राभर आनन्द लिन सक्ने विचार व्यक्त गर्नुभयो । यही मङ्सिर २१ गतेदेखि २३ गतेसम्म भएको उक्त कार्यक्रममा कलाकार डिराम पाल्पाली, नरबहादुर विक, महिमा सिंह, कलादेवी सुब्बा, जेनी नकर्मी, गणेश जिसी, टीका राई, कृष्णगोपाल श्रेष्ठ, निम तमाङ, अनिल महर्जनलगायतले क्यानाभासमा विभिन्न रङ भरेर चित्र सिर्जना गर्नुभएको थियो । ती कलाकारले कला सिर्जनाले मानिसलाई रचनात्मक बनाउन सहयोग गर्ने हुँदा उनीहरूले सामाजिक तथा आर्थिक विकासमा योगदान गर्ने गरी चित्र निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विविधताले भरिएको यस क्षेत्रका विभिन्न संस्कृति तथा जात्रापर्व लोपोन्मुख बन्दै गएकाले स्थानीय चिन्तित छन् । टिस्टुङ उपत्यकामा विभिन्न जातजातिका अलग–अलग बस्तीका साथै फरक संस्कृतिलाई एकापसमा स्वीकार गरी पूर्वाधार विकास निर्माणमा सहयोग गर्ने गरेका छन् । यस क्षेत्रलाई अहिले खुला सङ्ग्रहालयका रूपमा विकास गर्न खोजिएको जनजाति अध्ययन केन्द्रका अध्यक्ष मीना महर्जनले जानकारी दिनुभयो ।

भौगोलिक, सांस्कृतिक, पर्यावरण, धार्मिक क्षेत्र तथा सम्पदालगायतको विशेष महत्व रहेकाले वडाले मौलिक परम्परा, पुरातात्विक महत्वका सांस्कृतिक विषयवस्तुमा सम्बन्धित समुदायका सभ्यता र भावनालाई विशेष ध्यान दिएको छ । बज्रबाराही बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले यहाँ कृषि र पर्यटनको अथाह सम्भावना रहेको जानकारी दिँदै कलाकारले सिर्जना गरेका चित्रबाट यहाँको पर्यटन क्षेत्रको विकासमा योगदान हुने बताउनुभयो । नाफाले यस किसिमको कार्यक्रम गत वर्ष प्रदेश नं २ को वीरगञ्जमा सम्पन्न गरिसकेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक स्वदेश ल्याउनका लागि भ्रमण वर्षका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।