अलग-अलग दुर्घटनामा २ जनाको मृत्यु

हेटौंडा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा-९ पशुपतिनगरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो।

यस्तै मकवानपुरगढी गाउँपालिकामा टिपरको ठक्करबाट अर्का एक जनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका-४ मा भएको दुर्घटना परी सोही ठाउँका दीपक रुम्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बा ४ ख ६३५५ नम्बरको टिपरले रुम्बालाई ठक्कर दिएपछि चलक फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यता हेटौंडामा भएको दुर्घटनामा वीरगन्जबाट हेटौंडा आउँदै गरेको ना ४२ प ७५०६ नम्बरको मोटरसाइकलले अन्दाजी ४५ वर्षीय महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।

महिलाको परिचय खुलेको छैन। उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकी महिलालाई अस्पतालले मृत घोषणा गरेको थियो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्साको पर्सागढी-६ का अन्दाजी ३० वर्षीय कञ्‍चन ठाकुरको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको एसपी सिंहले जानकारी दिए।

मोटरसाइकल पछाडि सवार भरतपुर १० बस्ने ३५ वर्षीय शर्मिला थापा मगरको खुट्टा र हातमा चोट लागेको छ। घाइतेको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।