मुस्ताङमा हिउँ नपर्दै जम्यो खोलाको पानी

पर्वत : यो बर्ष हिमपात सुरु नहुँदै हिमालपारीका जिल्ला मुस्ताङका खोलानाला जम्न थालेका छन्। अत्याधिक चिसो बढेका कारण जनजीवन कष्टकर बन्न थालेको र मानिसहरुलाई घर बाहिर निस्कनै कठिन भइरहेको छ।

तल्लो मुस्ताङमा भन्दा उपल्लो मुस्ताङमा रहेका दुई गाउँपालिकाहरू लो–घेकर, दामोदर कुण्ड र लोमान्थाङमा रहेका चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप लगायतका ठाउँमा चिसो बढेको छ। चिसोका कारण खोलामा बगिरहेको पानी र धाराबाट खस्दै गरेको पानी नै जम्न थालेको हो।

स्थानीय तिलक विश्वकर्माका अनुसार उपल्लो मुस्ताङमा रहेका खोलानाला, धारा र सङ्कलन गरेर राखिएको पानीसमेत जमेको छ। ‘तल्लो मुस्ताङको तापक्रम माइनस ७ डिग्रीसम्म झरेको छ। माथिभन्दा त तल न्यानो हुने नै भयो।’ उनले भने, ‘खोला र धाराको पानी जम्नको लागि लगभग माइनस २० डिग्री हुनुपर्छ।’ मङ्सिर, पुस र माघ महिनामा मुस्ताङको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियस र अधिकतम माइनस २५ डिग्री सेल्सियससम्म मापन गरिएको छ। चिसोका कारण बाहिर निस्केर काम गर्न समस्या हुँदा मुस्ताङीहरुलाई दैनिकी सञ्चालनमा कठिनाइ हुन थालेको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख धारा गुरुङ बताउँछन्।

उनका अनुसार बुधवार बिहान बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ। ‘हिमपात भएको छैन तर चिसो निकै बढेको छ।’ उनले भने, ‘हिमपात भएपछि त निकै कष्ट हुन्छ।’ चिसोकै कारण उपल्लो मुस्ताङका धेरै युवा तथा प्रौढहरू घुम्ती व्यापारका लागि बेसी झरेका छन् भने बालबालिकाहरू घुम्ती विद्यालय मार्फत पोखरा सारिएका छन्।

उपल्लो मुस्ताङमा अधिकांश नागरिकहरू चिसो छल्नका लागि जिल्लाबाट बाहिरिएको भएपनि घर कुर्न तथा भेडा र चौँरी स्याहार्न बसेकाहरूलाई भने समस्या हुने गरेको छ। उनीहरूले दाउरा बालेर आगो ताप्दै दैनिकीलाई सजिलो बनाउन प्रयास गर्छन्।

चिसोकै कारण सधैँ पर्यटकहरूले भरिभराउ हुने मुस्ताङका विभिन्न ठाउँहरू पनि क्रमशः सुनसान बन्दै गएका छन्। गाउँपालिका प्रमुख गुरुङले हिमपात नभएकोले बाटोघाटा सफा रहेको भएपनि पर्यटकहरु निकै घट्दै गएको बताए। ‘चिसोका कारण यहीँ जन्मेका, हुर्केका र खेलेकाहरूलाई त समस्या हुन्छ, बाहिरबाट घुम्न आउनेहरूलाई चिसो सहन त मुस्किल नै हुन्छ नि।’ उनले भने, ‘अबको समय मुस्ताङमा पर्यटकहरु खासै हुँदैनन्।’