समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञको आय व्यय सार्वजनिक

भरतपुर :  पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञ सकिए लगत्तै आय व्यय सार्वजनिक गरिएको छ । आज महायज्ञ परिषरमा पत्रकार सम्मेलन गरी मंसिर १३ देखि २२ गतेसम्म सञ्चालनमा आएको महायज्ञको आय व्यय सार्वजनिक गरिएको हो । भरतपुर वडा नम्बर १२ पोखरेली टोलमा श्रीमद् भागवत महापुराण धनधान्याचल विराट ज्ञान महायज्ञको आयोजना गरिएको थियो ।

जस अनुसार नगद र जिन्सी सहयोग गरी २ करोड १ लाख ७३ हजार ३ सय ६० रुपैयांँ आम्दानी भएको छ भने , १८ लाख ३४ हजार ९२ रुपैयाँ खर्च भएको छ । सो मध्ये ४४ लाख ९४ हजार २सय २० नगद संकलन भएको छ । महायज्ञमा बोलचन्दा वापत ९४ लाख १८ लाख ४० रुपैयाँ उठ्न बांँकी रहेको छ ।

महायज्ञका आर्थिक संयोजक चन्द्रलाल राजभण्डारीले महायज्ञमा बिशेषगरी स्वतस्फूर्त श्रम र सहयोग प्राप्त धेरै भएकोले खर्च कम गरिएको बताए । कन्या गुरुकुल निर्माणका लागि यो पहिलो प्रयास भएको र आगामी दिनमा विभिन्न दाताहरुबाट थप रकम सहयोग संकलन जारी गरिने बताए । कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने महायज्ञ संयोजक रवीन्द्र अधिकारीले बताए । गुरु योजनाअनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने भएपनि पहिलो चरणमा चार करोड रुपैयाँ भएपछि कक्षा सञ्चालन गर्न सकिने अधिकारीको भनाई छ ।