छोराले गरे बाबुआमाको हत्या, दाजु घाइते

रुपन्देही : ओमसतिया गाउँपालिकामा आफ्नै आमा र बाबुको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । ओमसतिया गापा–४ सानो बालापुरका २८ वर्षीय गोरख यादवले घरमा बसिरहेको अवस्थामा आफ्नो ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा ठगना यादवको खुर्पा प्रहार गरेर हत्या गरेको भन्दै पक्राउ परेका हुन् ।

साथै ५२ वर्षीय दाजु जोगिन्द्र यादवमाथि पनि उनले खुर्पा प्रहार गरेर घाइते बनाएका छन् । जोगिन्द्रको पनि बायाँ हातमा चोट लागेको छ । उनको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अभियुक्तले पहिले बावुको र पछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । बाबुको घटनास्थलमै मृत्यु भएको हो भने आमाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । आमामाथि खुर्पा प्रहार गर्दा दाजुले जोगाउन खोज्दा दाजुमाथि पनि खुर्पा प्रहार गरी घाइते बनाएको रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।

यादवको मानसिक सन्तुलन बिग्रिएर औषधि सेवन गर्दैआएको प्राराम्भिक अनुसन्धानमा खुलेको उनले बताए । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।