इन्काउन्टर स्पेशलिष्ट मानिने खोजी सूचीका डिएसपी ढुंगेल कहाँ छन् ?

काठमाडौं । इन्काउन्टर स्पेशलिष्ट मानिने नेपाल प्रहरीको डिएसपी कुमोद ढुंगेल आपराधिक गिरोहसँगको सम्बन्ध रहेका कारण निलम्बनमा थिए । उनीमाथिको तिव्र अनुसन्धान गरियो, अब उनी प्रहरीकै पक्राउ सूचीमा छन् । उनीमाथि लागेको चार्ज हो– आपराधिक गतिविधिमा संलग्नसँगको निरन्तर लाभदायी सम्पर्क र सम्बन्ध ।
बुधबार मात्रै डिएसपी ढुंगेललाई पक्राउका लागि जिल्ला अदालत काठमाडौंको अनुमति प्रहरीले पाएपछि उनी कहाँ छन् भन्ने विषय चासोमा छ । ‘जहाँ भए पनि खोजी कार्य तिव्र छ, पक्राउ गरी घटनामा उनको संलग्नता छ या छैन भन्ने चिजको अनुसन्धान हुन्छ’, प्रहरी स्रोतले भन्यो ।
ढुंगेलले अहिलेका एआईजी पुष्कर कार्कीको टिममा बसेर काम गरेका थिए । जसलाई अब्बल मानिन्थ्यो । गुन्डा नाइके दिनेश अधिकारी चरी इन्काउन्टरबाट ढुंगेलको नाम अगाडि आएको थियो । त्यसबेला कार्की महानगरीय अपराध महाशाखाका प्रमुख थिए । यति मात्र होइन, पछिल्लो पटक दुर्गा तिवारी हत्याकाण्डका खोजी सूचीमा रहेका मनोज पुनलाई इन्काउन्टर गर्ने पनि ढुंगेल नै हुन् । यो नेक्ससमा जोडिएका अहिले कारागारमा रहेका समिरमानसिंह बस्नेतसँगचाहिँ ढुंगेलको साइनो रहेको प्रहरीले अनुसन्धानका क्रममा खुलाएको छ ।
‘प्रहरीको कर्तव्य र निष्ठामा आँच आउने गरी काम गरेका कारण उनीमाथि चार्ज लागेको हो, अदालतले अनुमति दिएको छ । खोजीमा छन्’, प्रहरी स्रोतले भन्यो । ढुंगेलको सूचना चुहावटका कारण नै बस्नेतको सम्भावित इन्काउन्टर टरेको र परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेको बुझाई प्रहरी वृत्तमा चर्चामा छ ।
तर ढुंगेलमाथि लागेको चार्ज भने अर्को प्रकरणको छ । जसका प्रमाणहरू बलिया रहेका कारणले पक्राउ पुर्जीका लागि अदालतले अनुमति दिएको हो ।
गएको २६ चैतमा रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको लाभदायीक सम्बन्ध रहेको अनुसन्धानका क्रममा खुलेको बताइन्छ ।
डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए । काठमाडौं–२९ रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान प्रहरीसमक्ष दिए । जसका कारण ढुंगेलको मिलोमतोको शंका स्वभाविक बनेको थियो ।
३६ वर्षीय श्रेष्ठ र डिएसपी ढुंगेलबीच घटना गराएको भोलिपल्ट ढुंगेलले बोक्ने गरेको ९८५११८०००० र ९८०८२३७०८२ बाट सम्पर्क भएको महानगरीय अपराध महाशाखाले जनाएको थियो । अनुसन्धानका अन्य पाटा नखुल्दा प्रहरीले आपराधिक व्यक्तिसँग अनेक प्रकारको सम्बन्ध राखेर काम गर्नसक्ने तर्क एकथरीले अगाडि सारेका थिए । तर, ढुंगेलको यो मुद्दासँग टाढासम्म पनि कर्तव्यपरक सम्बन्ध बन्दैन ।
अनुसन्धानमा ढुंगेलले प्रयोग गरिरहेको नम्बर ९८०८२३७०८२ र ९८५११८०००० बाट श्रेष्ठको ९८५११५५१८४ नम्बरमा दिन बिराएर पटक पटक टेलिफोन संवाद भएको विवरण महाशाखामा थियो ।
रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले ६ वैशाखमा पक्राउ गरेको थियो । श्रेष्ठसहित नवराज तामाङ र सन्तबहादुर तामाङ थिए । यो समूहले रानीबारीका लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटेको थियो ।