डिआईजी सरुवाको तयारी गर्दै गृह , मेट्रो र सिआईबी प्रमुखमा लडाईं

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानीरिक्षक (डिआईजी) हरुको सरुवाको तयारी थालेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएलगत्तै गृह मन्त्रालयले सरुवा गर्ने तयारी गरेको हो ।

गृहको तयारीसँगै प्रदेश, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी र महानगरीय प्रहरी कार्यालय (मेट्रो) मा जानका लागि डिआईजीहरुबीच मारामार चलेको छ । मेट्रो र सीआईबीको नेतृत्व एक वर्षयता परिवर्तन भएको छैन भने प्रदेश प्रमुखहरुको ६ महिनाअघि मात्र सरुवा भएको थियो ।

तर पनि केही प्रदेशका प्रहरी प्रमुख भने सरुवा हुने भएका छन् । गण्डकी प्रदेश प्रमुख डिआईजी विनोद शर्मा घिमिरेको कार्यक्षमता र कमाण्डमा कमजोर देखिएपछि उनलाई गृहले तान्ने तयारी गरेको छ । स्रोतका अनुसार गण्डकी वा ५ नम्बर प्रदेशमा प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेललाई पठाउने सम्भावना छ । ५ नम्बर प्रदेशका डिआईजी सुरेशविक्रम शाह पनि कार्यक्षमताका हिसावमा कमजोर देखिएको गृहको बुझाई छ ।

तर, ‘कनिष्ठ’ डिआईजी पोखरेललाई मेट्रो वा सिआईबीमा पठाउन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव प्रेमकुमार राईलाई दबाब दिएको बुझिएको छ । कनिष्ठ भएका कारण थापा र राई सकभर पोखरेललाई प्रवक्तामै राख्न चाहन्छन् ।

राजनीतिक पहुँचका आधारमा आफ्नो समूहका एसएसपीहरुलाई पछि पार्दै ६ महिना अघि डिआईजी बनेका पोखरेल इन्चार्ज भएर काम नगरेपनि फागुनमा पुनः एआईजी बन्न शक्ति केन्द्रको लविङमा जुटिसकेको प्रहरी स्रोत बताउँछ । जसका लागि उनी दुई महिना इन्चार्ज भएर देखाउनकै लागि मेट्रो, सिआईबी वा प्रदेश जान लालयित छन् । उनको ब्याजका एसएसपी उत्तम सुवेदी काठमाडौं परिसरको इन्चार्ज छन् भने अर्का एसएसपी बसन्त लामा लागूऔषधमा छन् ।

पोखरेललाई मेट्रोको प्रमुख बनाएर पठाइएको खण्डमा सुवेदीलगायतका एसएसपीलाई नैतिक संकट पर्ने देखिन्छ । प्रहरीमा सिस्टम नविगार्न र उच्च अधिकारीहरुको मनोवल नगिराउन गृहमन्त्री थापा र सचिव राई पोखरेललाई मेट्रो, सिआईबी तथा प्रदेशमा नपठाई प्रवक्तामै यथावत राख्न चाहन्छन् । तर, पोखरेललाई मेट्रोमा लैजानका लागि व्यापारी दिपक कुँवरले पनि लविङ गरिरहेका छन् ।

हाल सीआईबी प्रमुख रहेका निरज शाही र मेट्रो प्रमुख शैलेस थापा पोखरेलभन्दा सिनियर हुन् । स्रोतका अनुसार मेट्रोको प्रमुखमा डीआईजी केदार रिजाल, हरी पाल, प्रधुम्न कार्की, निरज शाहीको संभावना रहेको छ ।

रिजाल भने ३० वर्षे सेवा हदका कारण माघ २९ गते घर जाँदैछन् । २०४९ साल बैशाखमा प्रहरी निरिक्षकबाट सेवा सुरु गरेका शैलेश थापा, हरि पाल, प्रधुम्न कार्की र निरज शाही पोखरेलभन्दा सिनियर डीआईजी हुन् । पोखरेल भने २०४९ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । यी भन्दा सिनियर डिआईजीमा ठाकुर ज्ञवाली, तारणी लम्साल र सूर्य उपाध्याय छन् ।
यता, एसएसपी विरेन्द्र श्रेष्ठले भने हिजो मात्रै (मंसिर १८ गते) अवकाश पाएका छन् । पोखरेल भन्दा सिनियर एसएसपी भए पनि श्रेष्ठलाई डिआईजीमा बढुवा नगरी घोर अन्याय गरिएको थियो । सिनियर श्रेष्ठलाई बढुवा नगरी जुनियर एसएसपी पोखरेललाई राजनीतिक दबाबमा एकाएक डिआईजी बनाइएपछि प्रहरी संगठन भित्रै असन्तुष्टि छाएको थियो । (यूनाइटेड पोस्ट साप्ताहिक )