उपनिर्वाचनमा भत्कियो ६ दशकको ‘लालकिल्ला’, प्रतिपक्षी कांग्रेसलाई फाइदा

काठमाडौं  : प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा पूर्वको ‘लालकिल्ला’ भनेर चिनिने सुनसरीको धरान महानगरपालिका प्रमुखमा प्रतिपक्षी नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले सोचेजस्तो मत नल्याएपछि ६० वर्षको विरासत गुमाउनु परेको छ ।

कम्युनिस्ट पार्टीको गढको रूपमा रहेको धरानमा कांग्रेस उम्मेदवार विजयी भएपछि सबैले आश्चर्य मानेको समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै कांग्रेसका तिलक राईले ऐतिहासिक जित दर्ता गरे ।

कांग्रेसका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाशले २३ हजार ९ सय १४ मत ल्याए ।

९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९।४९ प्रतिशत मत खसेको थियो । उपनिर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका तिलक २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग पराजित थिए ।