नारायणगढमा भोलिदेखि महिला फुटबल हुने

चितवन । नारायणगढको क्याम्पाचौरमा महिला फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा मङ्सिर १७ गतेदेखि स्व. जगदीश खड्का स्मृति महिला फुटबल प्रतियोगिता–२०७६ हुन लागेको हो ।
प्रदेश नम्बर २, ३ र ४ का ४ जिल्लाबाट आठ वटा टिम सहभागी हुने खेल चार दिन चल्नेछ । प्रतियोगितामा चितवनबाट मात्रै तीन टिमले सहभागिता जनाउनेछन् । चितवनबाट पञ्चकन्या महिला टिम ‘ए’, पञ्चकन्या महिला टिम ‘बी’ र हानमी एभरेष्ट क्लब चितवन सहभागी हुनेछन् ।
त्यस्तै प्रदेश ३ बाटै मकवानपुर महिला टिम, प्रदेश २ बाट बागमती फुटबल क्लब सर्लाही तथा प्रदेश ४ को नवलपुरबाट भेँडाबारी महिला टिम, बरचुली मावि र अभिषेक चर्च रजहर सहभागी हुने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । प्रतियोगिताको फाइनल मङ्सिर २० गते हुनेछ । विजेताले ४० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउने ढकालले बताए ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट फरवार्ड, डिफेण्डर र गोलकिपरलाई जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । हरेक म्याचका प्लेयर अफ दी म्याचलाई दुई हजार नगद दिइनेछ । क्याम्पाचौरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले महिला खेलाडी उत्पादनमा विशेष योगदान गरेका स्व. जगदीश खड्काको सम्झनामा प्रतियोगिता आयोजना गरिएको बताए ।
चितवन जिल्लाका एक उत्कृष्ट खेलाडी खड्काको २०७४ मंसिर १० गते निधन भएको थियो । उनी चितवन जिल्ला फूटबल संघमा २०७०–७४ को कार्यसमितिमा सदस्य थिए । पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिताका मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रमुख वाई बी पौडेलले अरु सबै खेलमा धेरैले सहयोग गरे पनि महिलाको खेलमा धेरैले चासो नदिएको देखेर आफूले सहयोग गरेको बताए ।