१४ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

दाङ: दाङमा करिब १४ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका १२ रतनपुर टिकरीस्थित बिशाल भनिने गोकर्णबहादुर बिकलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बिकको साथबाट ५ सय दरका १८ सयका ९ लाख, २ सय दरका १५ सय ९९ थान गरी ३ लाख १९ हजार, १ सय दरका १५ सय ९९ थान गरी एकलाख ५९ हजार ९ सय, ५० दरका २०० थान गरी १० हजार, १० का १४७ थान गरी १४ सय ७० गरी १३ लाख ९१ हजार १ सय ७० भारतीय रुपैयाँसहित बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी दाङका प्रहरी नायव उपरीक्षक बिनोदबिक्रम शाहले बताए।

त्यसैगरी बिकको साथबाट नेपाली सटाइएका ५ सय दरका १०० थान गरी ५० हजार र एक हजार दरका २७ थान गरी ७७ हजार समेत बरामद गरिएको प्रहरीले बताएको छ। बिकले भारत हरियाना राज्यको चरसीदादरी जिल्लास्थित घरेलु कामकाज गर्न बस्ने क्रममा सोही घरबाट चोरी गरी ल्याएको प्रहरीकाे अनुमान छ। यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।