नेपाल लाइफ सेयर मूल्य प्रतिकित्ता ३८ रुपैयाँले बढ्दा नेप्सेमा सुधार

काठमाडाैं : नेपाल लाइफ इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३८ रुपैयाँ बढेपछि सेयर बजारमा सुधार आएको छ। आजको कारोबार सुरु हुँदा नेपाल लाइफ इन्स्योरेन्सको सेयर प्रतिकित्ता ८ सय ४ रुपैयाँ कारोबार भएको थियो। कारोबारको अन्तिममा उक्त इन्स्योरेन्सको सेयर मूल्य ८ सय ४२ रुपैयाँमा पुगेर बन्द भएको छ। उक्त कम्पनीको सेयर मूल्य बढेका कारण समग्र नेप्सेमा सुधार आएको हो।

निरन्तर घट्दो क्रममा रहेको सेयर बजार मापक नेप्से साताको पहिलो कारोबार दिन आज (आइबार) ०.०७ अंकले उकालो लागेको छ। उक्त दिन जीवन बिमा कम्पनी समूह सबैभन्दा बढी १२९.३६ अंकले बढेका कारण समग्र नेप्से उकालो लाग्न पुगेको हो।

नेप्से झिनो अंकले बढेर १११२.८५ अंकमा पुगेको छ। उक्त दिन कुल १२ समूहमध्ये ६ समूहको सूचक बढेको छ भने ६ समूहको सूचक घटेको छ।

उक्त दिन जीवन बिमा कम्पनी समूहको सूचक, अन्य, उत्पादन तथा प्रशोधन, फाइनान्स, जलविद्युत कम्पनीका सूचक बढेका छन्। यसैगरी, ७५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको बैंक समूहको सूचक ३.२९ अंक, निर्जीवन बिमा कम्पनीलगायतको घटेको छ।

उक्त दिन २० करोड ६३ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

उक्त दिन नबिल बैंक लिमिटेडको सेयर सबैभन्दा बढी १ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार एनएमबी बैंकको सेयर भएको छ। उक्त बैंकको १ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । तेस्रो बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर रहेको छ। उक्त बैंकको १ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।