ब्राह्मण समाज चितवनको भवन निर्माणका लागि महायज्ञ हुने (भिडियो सहित)

चितवन । ब्राह्मण समाज नेपाल चितवनको आयोजनामा श्रीमद्भागवत महापुराण तथा धनधान्याचल विराट ज्ञान महायज्ञ हुने भएको छ ।

भरतपुर ९ शरदपुर स्थित सङ्गमटोलमा समाजको भवन निर्माणार्थ महायज्ञ गर्न लागिएको हो । महायज्ञका लागि आइतबार भवन निर्माणस्थल तथा महायज्ञ स्थलमा छलफल समेत गरिएको छ ।
सो महायज्ञलाई सम्पन्न गर्नका लागि टंकनाथ पौडेलको संयोजकत्वमा एक हजार एक सय ५१ सदस्यीय मूल समिति निर्माण गरिएको छ । आगामी माघ १५ देखि २३ गतेसम्म हुने महायज्ञबाट संकलन भएको रकमले शरदपुरको स्टेप बाइ स्टेप स्कुल अगाडि ब्राह्मण समाजको भवन निर्माण गर्ने जनाइएको छ ।
महायज्ञलाई सफल पार्नका लागि महानगरको विभिन्न स्थानमा पाँच वटा स्वागत द्वार निर्माण गरिने मूल संयोजक टंकनाथ पौडेलले बताए । महायज्ञलाई सफल पार्नका लागि विभिन्न उपसमितिहरु निर्माण गरिएको पौडेलको भनाइ थियो ।
सो महायज्ञको मूलकर्ता हुनका लागि स्थानीय अञ्जना घिमिरेले एक लाख ५१ हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएकी छिन् । त्यस्तै पाञ्चायन मन्दिर निर्माणका लागि घिमिरेले १२ लाख रुपैयाँ समेत दिने वचनबद्धता गरेकी छिन् ।
उनलाई प्रदेशसभा सदस्य गीता वाग्लेले पुष्पगुञ्छा सहित सम्मान गरेकी छिन् । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष यमलाल कँडेलले आफ्नो वडामा तीन वटा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्ने जानकारी दिए ।
जसमध्ये एउटा मिलनकेन्द्र ब्राह्मण समाजको भवन निर्माण हुने स्थलमा निर्माण गरिदिने कँडेलले प्रतिबद्धता जनाए । कार्यक्रममा प्रदेशसभा सदस्य गीता वाग्लेले महायज्ञलाई आफूले सक्दो सहयोग गर्ने बताएकी छिन् । मौलिक धर्म र संस्कृति संरक्षणमा सबै एकजुट हुनुपर्ने भन्दै उनले सहयोग गर्ने बताएकी हुन् ।