स्वर्ण दाबेदार तुलसा साग छोडेर कतारतिर

काठमाडौं : ‘देशका लागि खेल्ने चाहना हुँदाहुँदै म झुट बोल्न बाध्य भएँ । मेरो जीवन सहज पार्न कतार हिडें,’ एथ्लेटिक्सकी तुलसा खत्री क्षेत्रीले प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई पठाएको सन्देश हो यो ।तुलसा जसले आठौं राष्ट्रिय खेलकुदमा आर्मीबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी थिइन् । उनले ५९.५६ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान पनि बनाएकी थिइन् । त्यसैले उनी आइतबारबाट नेपालमा सुरुहुने १३ औं दक्षिण एसियाली खेलकुल(साग) मा पनि तुलसालाई स्वर्ण पदकको प्रबल दाबेदारको रुपमा हेरिएको थियो ।

तर बिडम्बना तुलसा खत्री क्षेत्री रोजगारीका लागि विदेश पलायन भएकी छिन् ।

साग मुखैमा आइरहेको समयमा बन्द प्रशिक्षणमा रहेकी क्षेत्री रोजगारका लागि कतार गएकी हुन् । ४ सय मिटर र ४ सय मिटर हर्डल्स तर्फको खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी तुलसा खत्रीले सागलाई वेवास्ता गर्दै वैदेशिक रोजगारका लागि कतार गएकी हुन् ।

पदकको आशा गरिएकी विभागीय टोली त्रिभुवन आर्मीकी खेलाडी सम्पर्कविहिन भएको एथ्लेटिक्सका प्रमुख प्रक्षिक चन्द्र बहादुर गुरुङले जानकारी दिए । यस बारे टिम म्यानेजर मोहन घले पनि बेखबर छन् ।

‘उनले हामीलाई घरमा पूजा भएकाले जानु पर्ने जानकारी दिएकी थिइन् । होटलबाट पनि पूजाको थालीसहित बाहिर निस्किएकी हुन् भन्ने सुन्नमा आएको थियो । अभ्यासमा ढिला हुने जानकारी आएको थियो । तर पछि सम्पर्कमा आइनन्,’ मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङले भने, ‘उनी दुबइ पुलिसमा भर्ती हुन कतार गएको भन्ने जानकारी आएको छ । उनीबाट सागमा पदकको अपेक्षा गरिएको थियो । तर अन्तिम समयमा उनीबाट धोका भएको छ । यो समग्र राज्यका लागि नै धोका हो ।’
आजको नागरिक दैनिकमा सुमन चापागाईंले यो समाचार लेखेका छन् ।