सुकुमवासीको तथ्याङक संकलन गर्न प्रविधिको प्रयोग

चितवन : रत्ननगर नगरपालिकाले सुचना प्रविधिको प्रयोग गरेर संकलन गरेको सुकुम्वासीहरुको तथ्यांक शुक्रवार सार्वजनिक गरेको छ । प्रदेश सांसदहरु कृष्ण प्रसाद खनाल र कंचन खनाल लगायत सरोकारवालाहरुको उपस्थितिमा रत्ननगर नगरपालिकाले सुकुम्वासीहरुको तथ्यांक सार्वजनिक गरेको हो ।
रत्ननगर नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समुह र युएन ह्याबिटेटले २ महिना लगाएर सुकुम्वासी वस्तीमा सर्वेक्षण गरेका थिए । सोही सर्वेक्षणको तथ्यांक शुक्रबार एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो । लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरका संयोजक सिंह वहादुर लामाका अनुसार नगर भित्र १ हजार ३ सय ५९ घरधुरीको आफ्नो नाममा कतै जग्गा छैन । उनीहरु ऐलानी जग्गामा वसोवास गर्दै आएका छन् । १ हजार ५ सय ४ घरघुरीमा गरिएको सर्वेक्षण मध्ये ९९ घरधुरीको भने अयन्त्र जग्गा रहेको पाईएको लुमन्तीका संयोजक लामाले बताए । रत्ननगरमा सबैभन्दा धेरै नगरको वडा नम्वर १४ मा २६४ घरधुरी सुकुम्वासीहरु रहेका छन । लुमन्तीका संस्थापक अध्यक्ष प्रफुल्लमान प्रधानले तथ्यांकले अब सुकुम्वासीको क्षेत्रमा काम सहज हुने विश्वास व्यक्त गरे । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आफ्नै जग्गा भएर पनि ऐलानी जग्गा ओगटेर वसेकाहरुलाई उनीहरुकै जग्गामा फिर्ता पठाउने प्रतिवद्धता जनाए ।

रत्ननगरका मेयर वनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदद्धय कृष्ण प्रसाद खनाल, कंचन खनाल, युएन ह्याबिटेटका कार्यक्रम निर्देशक राजाराम छतकुल्ली, रत्ननगर २ का वडाध्यक्ष तिलकराज शर्मा, रत्ननगरका प्रवक्ता राजेन्द्र हमाल,विपन्न समुदाय व्यवस्थापन मंच रत्ननगरका अध्यक्ष मायानाथ भट्ट लगायतले आ–आफ्नो धारणा राखेका थिए ।