रत्ननगर मेयर वन भन्छन् : विकास निर्माणका ९०% योजना सम्पन्न गरेका छौं

चितवनका सात स्थानीय तहमध्ये रत्ननगर नगरपालिका जनसंख्या, अर्थतन्त्र र भूगोलका हिसाबले दोस्रो ठूलो नगरपालिका हो । भरतपुर महानगरपालिकासँगै जोडिएको यो नगरपालिका ६८ दशमलव ६६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । १ लाखभन्दा बढी जनसंख्या रहेको रत्ननगर कृषि, जैविक विविधता, पर्यटन र शिक्षाक्षेत्रमा समेत अगाडि देखिन्छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा पनि यसै नगरपालिकाभित्र पर्दछ । नगरपालिकाको उत्तरमा आवासीय क्षेत्र, बीचमा राजमार्गसँग जोडिएको शहरी क्षेत्र र पश्चिमतर्फ चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । ‘व्यावसायिक कृषिमा आधारित पर्यटकीय शहर, स्वच्छ, सफा र समृद्ध रत्ननगर’ मूल नारासहित नगरपालिका अघि बढेका नगर प्रमुख नारायण वन बताउँछन् । प्रस्तुत छ, नगरपालिकाका विकास गतिविधि, आगामी योजना योजना लगायत विषयमा सूर्यप्रसाद अधिकारीले नगर प्रमुख वनसँग गरेको कुराकानीको सार : अन्तरवार्ता

तपाईं रत्ननगर नगरपालिकाको नगर प्रमुख भएर आएपछि जनताले महसूस गर्नेगरी भएका विकासका काम के के हुन् ?
म निर्वाचित भएर आइसकेपछि विकास निर्माणका ९० प्रतिशत योजना सम्पन्न भएका छन् । विशेषगरी पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्यक्षेत्रमा फड्को मारेका छौं । रत्ननगर अस्पताललाई ४०० शैøयामा विस्तार गरेर व्यवस्थित बनाएका छौं । विपन्न वर्गका लागि पनि केही काम गरेका छौं । जस्तै, नगरपालिकामा रहेका खरका छाना विस्थापित गरी जस्ताको छानो लगायौं । नगरभित्र सार्वजनिक शौचालय बनाएका छौं । निकुञ्ज वरिपरि बस्ने जनताका लागि दुर्घटनाको बीमा गरेका छौं । गरीब र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र सुत्केरी हुन लागेका महिलाका लागि निःशुल्क उपचारका साथै अस्पताल लैजाने र घर ल्याउने व्यवस्था गरिएको छ । ४० बिगाहा सार्वजनिक जग्गा फिर्ता गर्न सफल भएका छौं । सार्वजनिक जग्गामा बसपार्क, सांस्कृतिक ग्राम र रंगशाला निर्माणको तयारी छ । बाँझो जग्गा राख्नेलाई जरीवानाको व्यवस्था गरेका छौं । यस वर्ष सौराहा चौकमा बसपार्क बनाउँदै छौं । नदी कटान नियन्त्रणका लागि स्वीस सरकारसँग मिलेर समस्याको दीर्घकालीन समाधान गरिँदै छ । नगरपालिका क्षेत्रभित्र सबै सडक कालोपत्र भइसकेका छन् । २ वर्षभित्र सबै वडामा खानेपानी सुविधा पुर्‍याइसक्छौं ।

नगरपालिकाले सञ्चालन गरेका योजनाको कार्यप्रगति कस्तो छ ? 
पूर्वाधार विकासका कतिपय आयोजना निर्माणधीन छन् भने केहीको निर्माण पूरा भइसकेको छ । यो नगरपालिकामा मुख्यतः कृषि र पर्यटनको ठूलो सम्भावना छ । यस क्षेत्रमा धेरै काम पनि भएका छन् । नगर क्षेत्रमा ४१ किलोमिटर कालोपत्र गर्ने काम भइसकेको छ । सौराहामा बसपार्क र सांस्कृतिक ग्राम निर्माणको तयारी हँुदै छ । ७ बिगाहा क्षेत्रफलमा रंगशाला बनाउने प्रक्रिाय अघि बढेको छ । भूमिहीन तथा विपन्नहरूलाई खरको छानो प्रतिस्थापन गरेर जस्ताको छानो वितरण गरेका छौं । अहिले ६ र ७ बाहेक सबै वडामा खानेपानी सुविधा पु¥याएका छौं । आकाशे पुलको निर्माण गरिँदै छ । १६ ओटा वडामध्ये चारओटा वडाको मात्रै आफ्नै भवन छ । अन्य वडाका लागि भवन बनाउन लागेका छौं । सीमित स्रोत हुँदा हुँदै पनि समानुपातिक ढंगले विकास निर्माण गरेका छौं । यसकारण पनि हामीले शुरू गरेका अधिकांश काम गर्न सफल भएका छौं ।

विकासका काम अघि बढाउन चुनौती के के छन् ?
नगरपालिका स्थानीय सरकार भएकाले यसले सबै क्षेत्रलाई समेट्नुपर्ने हुन्छ, जस कारण यस मुख्य चुनौती बजेट व्यवस्थापन नै हो । विकास निर्माणका योजनाका लागि पर्याप्त बजेट छैन । आन्तरिक स्रोत बलियो छैन । संघीय तथा प्रदेश सरकारसँग भर पर्नुपरेको छ । पर्याप्त बजेट भयो भने नगरपालिकाको खर्च खर्ने क्षमता राख्छ । हालसम्म यहाँबाट बजेट फ्रिज हुने समस्या छैन । किनकि सोही अनुसारको जनशक्ति परिचालित छ । नगरपालिकाले सीमित स्रोतसाधनबाट समानुपातिक ढंगले विकास गर्नुपर्ने बाध्यता छ ।

रोजगारी प्रवर्द्धनका लागि नगरले कसरी काम गर्दै छ ?
३५ जना महिलालाई स्वरोजगार बनाउन ठेला दिएका छौं । शीपमूलक र युवालक्षित कार्यक्रम सञ्चालन गरेका छौं । शीप सिकेर गएका युवालाई ६० लाख रुपैयाँ लगानी गरेका छौं । उनीहरूले नियमित किस्ता बुझाइरहेका छन् ।

नगरका अन्य योजना कसरी अघि बढ्दै छन् ?
चालू आवमा ३० लाख रुपैयाँभन्दा बढीका योजना टेन्डर प्रक्रियामा गइसकेका छन् । अन्य योजनामा उपभोक्ता समिति बनाएर काम शुरू भइसकेको छ । वडा नं ३ मा ‘इन्डोर गेम’का लागि कभर्ड हल बन्दै छ । नगरपालिका विकासको लक्ष्य हासिल गर्न अघि बढेको छ । सुकुमबासी समस्या र शिशु मृत्युदर न्यूनीकरण भएको छ । कुपोषणमुक्त नगरपालिका, वातावरणमैत्री नगरपालिका, स्मार्टसटी र ग्रीनसिटी जस्ता योजनाको काम शुरू गर्दै छौं ।

करको विषयमा स्थानीयको के कस्तो गुनासो छ ?
शुरूका दिनमा नगरपालिका करमैत्री भएन भनेर गुनासो आएको थियो । तर सम्बन्धित सरोकारवालासँग छलफल गरी अहिले यो करमैत्री नीति बनाएका छौं । उत्पादन र लगानीमा आधारित रहेर कर लिएका छौं । सम्पत्ति कर चाहिँ मूल्यांकनको आधारमा लिने गरेका छौं ।

सौराहामा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले के के गर्दै छ ? 
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सौराहा शुरू हुने स्थानमा मौलिकपन झल्कने र वन्यजन्तुको मूर्तिसहितको कलात्मक गेट बनाइरहेका छौं । सौराहामा पर्यटन पूर्वाधारको अवस्था राम्रै भए पनि यसलाई विविधीकरण गर्न खोजिरहेका छौं । यहाँका होटलहरूमा एकरूपता ल्याउन र आकर्षण बढाउन सबै होटलमा एकै प्रकारका रङ लगाउने तयारीमा छौं । यस्तै रात्रिकालीन जीप सफारी सञ्चालनका लागि पनि छलफल गरिरहेका छौं ।

चितवनका अन्य नगरपालिकाभन्दा यो नगरपालिका के कुराले फरक छ ? 
मुख्यतः यहाँको पर्यटकीय सम्पदा नै हो । सौराहा र चितवन राष्ट्रिय निकुञ्ज नेपाल मात्र नभएर विश्वमै परिचित पर्यटन गन्तव्य हुन् । नगर क्षेत्रमा सांस्कृतिक तथा जैविक विविधता छ । पर्यटन र कृषि क्षेत्रमा नगरपालिका अग्रस्थानमा छ ।

नगरको समृद्धिका लागि के गर्दै हुनुहुन्छ ? 
पूर्वाधारविना समृद्धि हासिल गर्न सकिँदैन । यसका लागि शैक्षिक एवं स्वास्थ्य गुणस्तरीय हुनुप¥यो । प्रविधिको विकास र प्रयोग बढ्नुपर्‍यो । स्थानीयलाई प्रविधिको प्रयोगमा अभ्यस्त बनाउन नगरले प्रयास गरिरहेको छ । अहिले हामी अनलाइन प्रणालीमा गइसकेका छौं । नगरको समग्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न ‘मिशन २०२०, भिजन २०२० र भिजिट २०२०’ को अवधारणा समेत अघि सारेका छौं ।