प्रथम बार्षिकोत्सव क्यान्सर अस्पताल नर्सिङ्ग कलेजले मनायो (भिडियो)

चितवन : बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज (शुक्रबार) नर्सिङ्ग कलेजको प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य कृषि समितिका सभापति घनश्याम दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नर्सिङ्गका विद्यार्थीहरुले आफ्नै देशमा बसेर काम गर्ने उद्देश्यले अध्ययन गर्नुपर्ने बताउदैँ प्रमुख अतिथी दाहाले विद्यार्थीहरु विदेशिनुले स्वस्थ्य क्षेत्रमा कमी देखिएको बताए । नर्सिङ्गका विद्यार्थीहरुको रोजगारीका लागि प्रदेश सरकारले सात वटै प्रदेशमा रहेका सबै विद्यालयहरुमा नर्सको व्यवस्था गर्ने योजना अघि सारेको समेत जानकारी गराए ।

कार्यक्रम अस्पतालका कार्यकारी निर्देशक तथा नर्सिङ्ग कलेजका अध्यक्ष डा. बिजयचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले नर्सिङ्ग कलेजमा पहिलो वर्षमा २० जना, दोस्रो वर्षमा ३० जना विद्यार्थीहरु अध्ययनरत रहेकोमा, तेस्रो वर्षमा ४० जना पुर्‍याउने योजना रहेको बताए । अध्यक्ष आचार्यले पोखरा विश्व विद्यालयद्धारा संचालित कार्यक्रमहरु नवीनतम र फरक प्रकारको एंवम समय सापेक्षिक रहेकोले यसले हाम्रो राष्ट्रलाई पक्कै पनि धेरै सहयोग पुग्ने बताए ।

नर्सिङ्ग बिषयको अध्यापनको लागि नर्सिङ्ग कलेज संचालन व्यवस्थापन समिती अत्यन्त संवेदनशिल रहेको उनले बताए । कार्यक्रमको अन्त्यमा साँस्कृतिक प्रस्तुती समेत रहेको थियो ।