कानुनबारे जानकारी नहुँदा चेपाङलाई समस्या

 

राप्ती : प्रचलित ऐन, कानुनको बारेमा पर्याप्त ज्ञान नहुँदा सिमान्तकृत चेपाङ समुदायका मानिसहरु विभिन्न घटनाहरुमा फस्ने गरेको सरोकारवालाले बताएका छन् ।

बुधबार राप्ती नगरपालिकाको वडा नं. ३ धमिलीमा आयोजित समुदाय साझेदारी प्रहरी तथा सरकारी वकिलसँग समुदाय कार्यक्रममा गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा पर्याप्त कानुनसम्बन्धि ज्ञानको अभाव रहेको औँल्याइएको हो । नेपाल चेपाङ संघ राप्तीका उपाध्यक्ष प्रेम चेपाङले चेपाङहरुले अन्जानमै अपराध गर्ने गरेको बताए । पैसाको प्रलोभनमा विभिन्न तस्करी, लागुऔषध ओसारपसार तथा गाँजा खेती जस्ता क्रियाकलापमा चेपाङहरु लाग्ने गरेको उनले बताए ।

‘विभिन्न प्रलोभनमापरि चेपाङ युवाहरुलाई गलत काममा प्रयोग गर्ने गरेका छन्’ उनले भने, –‘कुन कामलाई कानुनले निषेध गरेको छ भन्नेबारे चेपाङहरुमा पर्याप्त ज्ञान छैन ।’ नेकपाका नेता श्याम पाठकले यो समुदायको बसोबास विकट क्षेत्रमा बाक्लो रहेकाले त्यहाँ शिक्षाको पहँुच नहुँदा समस्या भएको बताए । ‘अशिक्षाका कारण कानुनबारे थाहा हुँदैन’ उनले भने, –‘उनीहरु गरिबीका कारण पैसाका लागि गलत काममा पनि अग्रसर रहन्छन् ।’ यो समुदायमा कानुनी सचेतना बढाउनका लागि राज्यले भूमिका खेल्नुपर्ने उनले तर्क गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले प्रहरीलाई साथीको रुपमा हेर्न आग्रह गरे । उनले घरेलु हिंसा, महिला हिंसा, बालश्रम, लागुऔषध सबैलाई कानुनले अपराध मानेकाले त्यसमा नलाग्न आग्रह गरे । कुनै किसिमको अन्याय भएको महसुस भए निर्धक्क प्रहरी वा वडा कार्यालयमा उजुरी दिन सक्ने उनले बताए ।

जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले प्रहरी र वकिलहरु जनताको सेवामा तल्लीन रहेको बताए । उनले पीडित जो कोहीको पक्षमा सधैँ सरकारी वकिलले बहस गर्ने हुँदा न्यायका लागि कानुनसँग कोहि पनि डराउन नहुने बताए । उनले पीडितले प्रहरी, सरकारी वकिल हुँदै अदालतसम्म जाने प्रक्रिया, घटना घटेमा तत्काल न्याय कसरी पाउने लगायत विषयमा सहजीकरणसमेत गरे ।

सहायक जिल्ला न्याधिवक्ता प्रकाश थापाले ग्रामिण क्षेत्रमा साना अपराधहरु धेरै हुने गरेको बताउँदै सजग हुनुपर्ने बताए । उनले चेपाङ समुदायमा कानुनबारे जानकारी दिने उद्देश्यले नै चेपाङ बस्तीमा कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा स्थानीय चेपाङहरुले प्रहरीको कार्यशैली, उपस्थिति र सेवा प्रवाहका विषयमा प्रश्न उठाएका थिए ।

विभिन्न चेपाङ अगुवाहरु, सरोकारवालाहरु, प्रहरी तथा पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रम वडा सदस्य सुनबहादुर प्रजाको अध्यक्षतामा भएको थियो । राप्ती नगरपालिका वडा नं. ३ कै विकट क्षेत्र धमिलीमा चेपाङ समुदायको बाक्लो बसोबास छ ।