सपना भिलेजको काम : महिलालाई नेचरगाइड पछि ड्राइभिङ तालिम (भिडियो)

चितवन : सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्टले विपन्न बर्गका महिलाहरुका लागि तीन महिने ड्राइभिङ तालिम सुरु गरेको छ । सपना भिलेज लजमा बुधवार आयोजित एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले उद्घाटन गरेका थिए ।

सो अबसरमा उनले सामाजिक क्षेत्रमा सपना भिलेजले उलेख्य काम गरेको भन्दै समाज रुपान्तरणमा अझै काम गर्न बाकी रहेको बताए । तालिममा १२ जना कालिका नगर र ८ जना रत्ननगरका गरी २० जनाको सहभागिता रहेको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।

इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले सीप नभएर कष्टकर जीवनयापन गर्न बाध्य महिलाहरुको आयआर्जनको लागि तालिम आयोजना गरिएको बताए । तालिम सिकाउने जिम्मेवारी एमपी ड्राइभिङ सेन्टरले पाएको छ । महिलाहरुलाई ड्राइभिङ तालिमसंगै अंग्रजी भाषा लगायतका अन्य क्रियाकलाप पनि सिकाइने छ ।

कालिकाका मेयर खुमनारायण श्रेष्ठले काम गर्ने व्यक्तिलाई अबसरले पछ्याउने बताए । कार्यक्रममा प्रदेश ट्राफिक कार्यालय प्रमुख प्रकास रानाभाट,जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,क्षेत्रीय होटल संघ चितवनका उपाध्यक्ष योगेश अधिकारी,इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

इम्प्याक्टका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रम इम्प्याक्टका कर्मचारी अनिल अर्यालले सञ्चालन गरेका थिए । यस अघि सपना भिलेजले १६ जना महिलाहरुलाई नेचर गाइड तालिम दिएको थियो ।