एसपी दानबहादुर भन्छन् : अग्रज नै उतरदायी नहुँदा कुलतमा युवा

प्रतिमा कुमाल, चितवन : जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले अग्रज नैतिकवान र जिम्मेवार भए बालबच्चा पनि समाज र राष्ट्रप्रति उतरदायी हुने बताउनुभएको छ । अभिभावक गैरजिम्मेवार भइदिँदा किशोर अवस्थाका युवायुवती लागुऔषध जस्ता अन्य हिंसात्मक कार्यमा संलग्न हुने गरेको उहाँको भनाई रहेको थियो । उहाँले हरेक अभिभावक आफ्नो सन्तानको भविष्य सुरक्षित राख्न चाहान्छन् भन्दै सन्तानको चाहाना पनि पूरा गर्न प्रयत्न गरिरहन्छन् तर त्यो प्रयत्न गरीरहँदा आफ्नो सन्तानले माग गरेको वस्तुको सदुपयोग भएको छ कि छैन हेक्का नराख्दा धेरै अभिभावकले सन्तान गुमाएका छन् भने कति हिरासतमा रहेको उदाहरण दिनुभएको थियो ।

विश्व बाल अधिकार दिवसको अवसरमा आज यु.रे.स ओम शान्त्ति एकेडेमी र समुदाय प्रहरी साझेदारीको संयुक्त आयोजनामा भएको लागुऔषध विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रहरी र नागरिक मिलेर अगाडि बढे सुखी र समृद्ध घर, समाज, जिल्ला र राष्ट्र बनाउन सकिने बताउनुभयो । सुरक्षित समाज भए विकास निर्माणको काम अगाडि बढ्ने र अर्थतन्त्रमा सकारात्मक सहयोग पुग्नेमा उहाँको जोड थियो । उहाँले विद्यार्थीलाई किताबी ज्ञानले मात्र सभ्य व्यक्ति बनाउन नसकिने हँुदा प्रहरीले सामुदाय कार्यक्रम ल्याएको बताउनुभयो ।

प्रमुख अतिथि समेत रहनुभएका मल्लले सिस्टम अनुसार १ जना प्रहरीले ३ सय नागरिकलाई हेर्नुपर्ने भए पनि नेपालका १ जनाले १२ सय नागरिकलाई हेर्नुपर्ने हुँदा सुरक्षामा केही कमी देखिएको स्वीकार्नुभयो । सचेतना कार्यक्रमका प्रशिक्षक जिल्ला प्रहरी कार्यालय चितवनका नायव उपरीक्षक तथा सूचना प्रवक्ता एकनारायण कोइराला र प्रहरी निरीक्षक देवराज शर्मा द्वयले छोराछोरीको प्रत्येक मागमा अभिभावकले किन… ? कसरी…? केका लागि………जस्ता प्रश्न नगरीदिँदा त्यसको गलत उपयोग हुुने गरेकोमा सबैको ध्यानाकर्षण गराउनुभयो । किशोर अवस्थामा सही र गलत छुट्टयाउन सक्ने क्षमताको कमी हुने हुँदा यस्तो अवस्थामा परिवार, शिक्षकको ठूलो भूमिका रहने उहाँहरुको भनाइ रहेको थियो ।

हाल नेपालमा ७७ प्रतिशत किशोर किशोरी लापारबाहीको कारणले लागुऔषत जस्ता कुलतमा फसेका छन् भने सामाजिक संजालको दुरुपयोगका कारण अपराधहरु बढेकोे तथ्याङ्कले देखाएको छ । यु.रे.स ओम शान्त्ति एकेडेमीका अध्यक्ष अभियान ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य लगायत अभिभावक, शिक्षाक, सोही विद्यालयका विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।