एनएमबी बैंकको आयोजनामा भएको शिविरमा २१३ जनाको स्वास्थ्य परीक्षण

चितवन । सामाजिक उत्तरदायित्व अन्तरगत नारायणगढमा रहेको एनएमबी बैंकले भरतपुरमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । बैंकले सेन्ट्रल हस्पिटल भरतपुरसँग सहकार्य गर्दै भरतपुर २ को देवकोटा चोकमा बुधकार स्वास्थ्य शिविर गरेको हो ।
सो शिविरबाट एक सय ४२ जना महिला तथा ७१ जना पुरुषगरि दुई सय १३ जना स्वास्थ्य परीक्षण गराएका एनएमबी बैंक नारायणगढ शाखाका शाखा प्रबन्धक विष्णु पौडेलले जानकारी दिए । सो निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा सेन्ट्रल हस्पिटलका हाडजोर्नी रोग विशेषज्ञ डाक्टर सुशील थपा र जनरल फिजिसियन डाक्टर नवराज अधिकारीले बिरामीको स्वास्थ्य परीक्षण गरेका पौडेलले बताए ।
एनएमबी बैंकले विभिन्न औषधि कम्पनीसँग सहकार्य गर्दै तथा किनेर समेत जुटाएको औषधि समेत बिरामीलाई निःशुल्क रुपमा वितरण गरिएको पौडेलको भनाइ छ । सो क्षेत्रका आर्थिक रुपमा विपन्न समुदायलाई लक्षित गरेर स्वास्थ्य शिविर आयोजना गरिएको उल्लेख गर्दै पौडेलले ९७ वर्षीया पवित्रा देवकोटाको स्वास्थ्य परीक्षण गरेर शिविरको शुभारम्भ गरिएको बताए ।
सो शिविरमा स्वास्थ्य परीक्षण गरेका बिरामीहरुले अबको एक हप्तासम्म सेन्ट्रल हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट दिने सहमति भएको पौडेलले बताए । यस अघि पनि बैंकले विभिन्न सामाजिक कार्य गर्दै आएको शाखा प्रमुख पौडेलले बताए ।