मेघौली चिनाउँदै थारू होमस्टे

रमेशकुमार पौडेल, चितवन : पश्चिम चितवनमा पर्ने मेघौली कुनै नौलो पर्यटकीय क्षेत्र होइन । यहाँ विश्वप्रसिद्ध होटल ताजको साझेदारी रहेको चौधरी समूहको मेघौली सेराई, बराहीजस्ता ठूला होटल छन्, जसका लक्षित ग्राहक खर्च गर्न सक्ने विदेशी पर्यटक नै हुन् । विदेशी पर्यटकमाझ दशकौंदेखि चिनिएको मेघौली स्वदेशीका लागि भने अपरिचितजस्तै बनेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुअघि २०२२ सालमा नै मेघौली आडको वन क्षेत्रमा बेलायती नागरिक जीम इडवर्डले टाइगर टप्स जंगल लज खोलेर पर्यटक घुमाउन सुरु गरिसकेका थिए । मेघौली हुँदै जानुपर्ने टाइगर टप्स विश्वप्रसिद्ध जंगल लज हो । अर्थात्, मेघौलीमा ५० वर्षअघि नै पर्यटक पुगिसकेका थिए ।

चितवन भन्नासाथ स्थानीय र अन्य जिल्लाका पर्यटक सौराहामै रमाउन थाले । अहिले भने मेघौलीमा बल्ल आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ । आदिवासी थारू र कुमाल समुदायको बाक्लो बसोबास रहेको मेघौलीमा थारू समुदाय नै पर्यटनमा अगाडि बढ्ने जमर्को गर्दै छ । आन्तरिक पर्यटकलाई लक्षित गरेर मेघौलीमा थारू समुदायले होमस्टे चलाउन थालेको छ । माछा र हाँसका परिकारको स्वाद लिन आन्तरिक पर्यटक मेघौली पुग्न थालेका छन् ।

शनिबार दिउँसो जीवन महतो मुस्कुराउँदै १०/१५ जनालाई हाँसको परिकारसहितको खाजा खुवाउँदै थिए । श्रीमती देवी उनलाई सघाइरहेकी थिइन् । एक टोलीले खाजा खाँदै गर्दा दुई जना व्यक्ति रात बस्ने गरेर आए । उनीहरूलाई कोठा देखाइदिएर जीवन फेरि खाजा खाँदै गरेकाहरू सामुन्ने आएर मासु–भुजा थप्ने, नथप्ने सोध्न थाले । सदरमुकाम भरतपुरदेखि झन्डै २५ किलोमिटर पश्चिममा छ मेघौली विमानस्थल । विमानस्थल आडमा छ जीवनको घर । भरतपुर महानगरपलिका–२७ मा पर्ने यो ठाउँमा उनले होमस्टे चलाएको नौ वर्ष हुन थाल्यो । सानो घरमा उनले होचो ढोका राखेका छन् । घरको पालीलाई कलात्मक बनाउन दुईपाखे बनाएका छन् । पुरानो थारूघरजस्तो देखिने उनको होमस्टेले यहाँ पुग्ने पर्यटकलाई लोभ्याएकै छ ।

यहाँ ०६७ माघ १४ गतेबाट होमस्टे सुरु भएको हो । त्यसबेला पाँच घरले होमस्टे सुरु गरेका थिए । अघिल्लो वर्षदेखि तीनवटा घर थपिए । ‘पहिला हामीलाई निकै गाह्रो भयो । मान्छे आउँदै आएनन्,’ जीवन भन्छन्, ‘अहिले पनि त्यति बाक्लो आउने त होइन । अब चाँडै हाम्रो गाउँमा १०/१२ होमस्टे हुनेछन् ।’

अघिल्लो वर्ष होमस्टेमा आएर ५२ सयजना पाहुना बास बसेको उनले जानकारी दिए । उनी होमस्टे सञ्चालक समितिका सचिव पनि हुन् । आठवटा होमस्टेमा दिनमा ५६ जनासम्म बास बस्न मिल्छ । एउटा कोठाको पाँच सय रुपैयाँ तिर्नुपर्छ । खानामा हाँस वा लोकल कुखुराको मासु खाए३५० रुपैयाँ लाग्छ । सय रुपैयाँमा नास्ता पाइन्छ । सस्तो र मीठो परिकार पाइने भएका कारण होमस्टेमा बिस्तारै चहलपहल बढेको उनले बताए ।

मेघौली चितवन राष्ट्रिय निकुञ्जको आडमा छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरेको छ । यहाँ नौवटा मध्यवर्ती सामुदायिक वन छन् । राप्ती र नारायणी नदीको संगमस्थल घोलागाटबाट सूर्यास्तको निकै आकर्षक दृश्य देखिन्छ । पर्यटकलाई आकर्षित गर्ने धेरै कुरा यहाँ छन् तर स्थानीय र स्वदेशी पर्यटक लक्षित होटल खासै भएनन् । ‘होमस्टेले मध्यम आय भएका स्वदेशी पर्यटकलाई तान्न सक्छ । त्यसैले होमस्टेको प्रवर्द्धनमा वडा कार्यालय पनि सहयोगी भएको छ,’ भरतपुर–२७ का वडाध्यक्ष गोविन्द तामाङले भने । बाटाको सुविधा राम्रो नभएका कारण स्वदेशी पर्यटक भरतपुरबाट मोडिएर मेघौली लाग्नुभन्दा सिधै सौराहा जाने गरेको जीवनको भनाइ छ तर अहिले मेघौली पुग्ने सडक प्रायः कालोपत्रे भएको छ । एकदुई ठाउँ बन्न लागेका पुल पनि तयार हुँदै छन् ।

भङ्गाहा भरतपुरबाट लगभग २७ किलोमिटर पर रहेको मेघौलीको थारू गाउँ हो । माछाको झोल र तारेको माछा खानेका लागि यो त्यति अपरिचित ठाउँ होइन । शनिचरा महतोले पनि पर्यटकका लागि रेस्टुरेन्ट चलाएका छन् ।

उनको चौधरी रेस्टुरेन्टमा पाक्ने माछा र हाँसका परिकार खान धेरै जना हुरुक्क हुन्छन् । उनले माछाका परिकार बनाएर बेच्न थालेको २५ वर्ष भयो । ‘चितवन बाहिरबाट पनि आउँछन् । एक पटक यहाँ माछा खाएर गएकाहरू फेरि खान भन्दै आउने गरेका छन्,’ शनिचराले भने । अहिले उनको वरपर मात्रै माछाका परिकार बेच्ने तीनवटा रेस्टुरेन्ट छन् ।

मेघौलीमा मात्रै माछाहाँस बेच्ने रेस्टुरेन्ट २५ वटा पुगेको उनले बताए । ‘सस्तो र स्वादिलो माछा र हाँसको मासु खान मान्छेहरू आउने गरेका हुन्,’ उनले भने, ‘पहिला बाटोको समस्या थियो । अहिले त्यस्तै छैन । अब पर्यटक बढ्लान् कि ।’

सुनसान थारू संग्रहालय
मेघौली क्षेत्रमा थारूहरूको घना बस्ती भएका कारण पनि थारू संस्कृति हेर्न मान्छे लालायित हुने गरेका छन् । होमस्टेमा आएका वा अन्य पाहुनालाई मौलिक सांस्कृतिक कार्यक्रम देखाउन भनेर मेघौली क्षेत्रमा दुईवटा थारू सांस्कृतिक समूह छन् । मेघौलीमा थारू सांस्कृतिक संग्रहालय पनि छ । संग्रहालयका अध्यक्ष मायाराम चौधरीले भने पर्याप्त पर्यटक नआउँदा र सामग्री राख्न नपाउँदा संग्रहालय पूर्ण रूपमा चल्न नसकेको गुनासो गरे । ‘पर्यटक बढे संग्रहालयमा पनि चहलपहल बढ्ने थियो,’ उनले भने ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतो विदेशी पर्यटक मेघौली आउन थालेको आधा शताब्दी बिते पनि स्वदेशी पर्यटकको रोजाइमा मेघौली पर्न नसकेकाले प्रवर्द्धनका योजना बनाउन थालेको बताउँछन् । ‘मेघौली विदेशी महँगा पर्यटकको रोजाइमा छ,’ उनले भने, ‘आन्तरिक पर्यटकलाई उनीहरूको रुचिअनुसार कार्यक्रम राखेर सुलभ दरमा सेवा दिने योजना बनाउँदै छौं ।’                                                                                                        कान्तिपुरबाट