चितवन प्रहरीको नयाँ सुरुवात : बढी स्पीडको शूल्क लिएर कम स्पीडको इन्टरनेट प्रदान गर्ने सेवा प्रदायक निगरानीमा

भरतपुर :  उपभोक्ताबाट बढी स्पीडको शूल्क लिएर कम स्पीडको इन्टरनेट सेवा प्रदान गर्ने सेवा प्रदायक कम्पनिमाथि चितवन प्रहरीले निगरानी बढाएको छ।

भरतपुर र चितवन जिल्लामा नै उपभोक्तामाथि बढी शूल्क लिएर कम स्पीडको इन्टरनेट दिएको गुनासो आएपछि प्रहरीले इन्टरनेट सेवा प्रदायक कम्पनिमाथि निगरानी बढाएको हो। आफूहरुसँग चर्को शूल्क लिए पनि इन्टरनेटमा सोअनुसारको स्पीड नभएको भन्दै चितवनका स्थानीयले प्रहरीसँग गुनासो गरेका थिए।

उपभोक्ताको गुनासालाई सम्वोधन गर्ने गरी इन्टरनेट सेवा कम्पनिमाथि निगरानी बढाइएको चितवनका प्रहरी प्रमूख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। मल्लले भने, ‘उपभोक्तासँग बढी एमबिपिएसको पैसा लिने तर इन्टरनेट सेवा प्रदायक कम्पनिले त्यसअनुसारको सेवा नदिएको गुनासो आएपछि हामीले निगरानी बढाएका छौं। विज्ञ टोलीको रिपोर्टपछि ठगी भेटिए कार्वाही गर्छौं।’

इन्टरनेट सेवा प्रदायक कम्पनिले ठगी गरे/नगरेको प्राविधिक टोलीले निक्र्यौल गरेपछि कार्वाहीको प्रक्रिया अघि बढ्ने एसपी मल्लले बताए। उनले भने, ‘उपभोक्ताका गुनासा आएका छन्। हामीले यसलाई गम्भिर रुपमा लिएका छौं। हाम्रो प्राविधिक टोलीले अनुसन्धान गर्छ। उपभोक्ताको गुनासो बमोजिम इन्टरनेट सेवा प्रदायक कम्पनिहरु दोषी भेटिए कार्वाहीको प्रक्रिया अघि बढ्छ।’

चितवनमा मात्र होइन, इन्टरनेटका कम्पनिहरुले शूल्क अनुसारको सेवा नदिएको गुनासो देशैभरि छ। इन्टरनेट सेवा प्रदायक कम्पनिहरुले अग्रिम शूल्क लिएर उपभोक्ताका गुनासाहरु सम्वोधन नगरेका गुनासा प्रशस्तै छन्। यस्ता विषयमा प्रशासनले हालसम्म चासो देखाएको थिएन। इन्टरनेट कम्पनिले गर्ने ठगीको चितवन प्रहरीले पहिलोपटक अनुसन्धान थालेको हो।

गुनासो सम्वोधन गर्न चितवन प्रहरीले विज्ञ टोली नै गठन गरेको छ। टोलीले आन्तरिक रुपमा जिल्लामा रहेका सबै इन्टरनेट सेवा प्रदायक कम्पनिको अनुसन्धान अगाडि बढाउने छ। टोलीको रायका आधारमा प्रहरीले कार्वाहीको प्रक्रिया अघि बढाउने मल्लले जानकारी दिए।

मल्लका अनुसार प्रहरीले आफ्नो ड्युटीमा लापरवाही गर्ने प्रहरी कर्मचारीमाथि पनि कार्वाही थालेको छ। उनका अनुसार ड्युटी समयमा व्यक्तिगत काममा जाने र ड्युटीमा नरहेको बेला नागरिकलाई अनावश्यक दुख दिएको अभियोगमा प्रहरी जवान यादव ढकाललाई चितवन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

जवान ढकालले चितवनको मुग्लिनमा आफ्नो जिम्मा पूरा नगरी उल्टै यात्रुहरुलाई दुख दिएका थिए। स्थानीय जनताको गुनासोपछि प्रहरीले ढकाललाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ। ढकालमाथि अनुसन्धान भइरहेको मल्लले जानकारी दिए।