मन्त्री ज्ञवालीले भने –नक्सा सच्याउन पहल भएको छ

काठमाडौं :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले नेपालको भूभाग सामेल गरी हालै जारी गरेको नक्सा सच्याउन उपयुक्त माध्यमबाट पहल सुरु भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियु आवद्ध विद्यार्थीले नक्सा सच्याएर नेपालको भूभाग फिर्ता लिन माग गर्दै आइतबार बुझाएको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री ज्ञवालीले भारतको त्यो कदम विरुद्ध नेपालको सबै दल र पक्ष एकमत भएको जानकारी गराए ।

‘हाम्रो जमिन हो भन्नेमा दुइमत छैन, तपाँईहरू भ्रममा नरहनुस् सुगौली सन्धिपछि बनेको नक्सामा कुनै पनि तलमाथि गर्न पाँइदैन,’ ज्ञवालीले भने ।

नेपालमा आफ्नो भूमिको सम्बन्धमा राष्ट्रिय सहमति जुटेकाले तथ्य प्रमाण सहित भारतसँग वार्ता गर्ने तयारीमा नेपाल रहेको जानकारी मन्त्री ज्ञवालीले दिए ।

आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।