कविता : कालापानी

-दिल थापा  कालापानी घरछेउको बारी भए पो लाग्थ्यो मायाँ
लिपुलेक बेँसी गोठछेउको खरबारी भएको भए पो लाग्थ्यो मायाँ
काली नदी काठमाडौँलाई भेट्न बगेको भए पो लाग्थ्यो मायाँ
लिम्पियाधुरा राजधानीको पाउले टेकेको भए पो मायाँ

सुस्ता नम्बरी घडेरी भएको भए पो लाग्थ्यो मायाँ
सुस्ता ओएलानी जग्गा भएपछि के लाग्थ्यो मायाँ
जङ्गे पिल्लर घरको धुरी भएको भए पो लाग्थ्यो मायाँ
कालापानीको माटो धानको मुरी भएको भए पो लाग्थ्यो मायाँ
जङ्गे पिल्लर घरको पालीको कुम खाँबो भएको भए पो लाग्थ्यो मायाँ

दशकौँदेखि यसरी सुस्ताइ रहेको छ सुस्ता
अझै कतिऔँ दशक सुस्ताई रहनुपर्ने हो सुस्ता
सीमा स्तम्भहरु रातारात गायब भए भनेर सुन्नुपर्छ बिहान उठ्दा ।

यसरी डसिरहेको छ देशलाई
विस्तारवादी गोमन सर्पले
यस्तो दुखिरहेको होला देशको सीमानालाई
त्यो डसाइको दुखाइ कम हुन्न राजधानीको हर्षले

आफ्नै शरीरको अङ्ग हराएजस्तो लाग्छ
देशको सीमा स्तम्भहरु हराउँदा
आफ्नै शिर झुकेजस्तो लाग्छ
विस्तारवादको झन्डा आफ्नो माटोमा फहराउँदा ।।