स्वास्थ्य कार्यालय चितवन कर्मचारी नहुँदा अव्यवस्थित बन्दै

प्रतिमा कुमाल, चितवन  : सरकारले समायोजन गरेको कर्मचारी समयमा नआईदिदा स्वास्थ्य कार्यालय चितवनले सास्ती खेप्दै आएको छ । समायोजनमा परेका २ जना कर्मचारी समयमा नआईदिदा कार्यालयले जनतालाई राम्रो सेवा दिन र कामको व्यवस्थापन गर्न नसकेको हो । कार्यालयमा प्राविधिक र अप्राविधिक गरी १५ जना कर्मचारीको दरबन्दी रहेको छ ।

संघियताको कार्यान्वयनसंगै कार्यालयहरुको स्वरुप बदलिएको छ । पहिला सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको कार्यालयले हाल जनमानसको अपेक्षा पुरा गर्न नसकेको कार्यालय प्रमुख दिपकप्रसाद तिवारीले बताउनु भयो । राज्यले तल्लो तहलाई जिम्मेवारी दिदा केही सहज भएपनि बुझाइमा कमी हुँदा तथ्याङक गुणस्तरहिन भएको उहाँको गुनासो थियो ।

कार्यालयलाई व्यवस्थापन र तथ्याङ्क सुधार्नका लागी सामाजिक विकास मन्त्रालयमा आवश्यक दरबन्दीको विवरण दिएको तिवारीले जानकारी दिनुभयो । मेडिकल सिटीको रुपमा चिनिने चितवनमा जिल्लाकै स्वास्थ्य कार्यालय दयनीय अवस्थामा रहँदा प्रदेश ३ सरकारले कर्मचारी पठाउन ढिलाइ गरेको देखिएको छ । यस्तै कार्यालयकी पब्लिक हेल्थ नर्स नन्दकली चापागाँईले कर्मचारीको कमीले काम गर्न गाह्रो भएको गुनासो गर्नुभएको थियो ।