ज्यानमारा बन्दै नारायणी पुल, हामफाल्नेको संख्या बढ्यो, जाली लगाउन माग

बसन्त ढुंगाना, चितवन : सवै तिर तिहारको रौनक बढिरहेको समयमा सर्वसाधरण लक्ष्मि पुजाको तयारीमा थिए । ठिक त्यही दिन नाराणगढ स्थित नारायणी पुलबाट नदिमा अन्दाजी ३५ बर्षका पुरुष आफ्ना नावालक छोरा सहित हाम फाले । कात्तिक १० गते करिव ४ बजेको समयमा हाम फालेका तीन पुरुषलाई तत्काल वडा प्रहरी कार्यालय नारायणगढले मृत अवस्थामा फेला पा¥यो । तर, नावाल छोरा भने अझै बेपत्ता छन् ।

यो घटना सेलाउन नपाउँदै बुधवार अर्को घटना दोहोरियो । कात्तिक २० गते ५५ बर्षका एक पुरुषले नारायणी पुलबाट हाम फाले । उनलाई तत्काल प्रहरीले उद्धार त ग¥यो । तर, भरतपुर अस्पतालमा उपचारका क्रममा एक दिन पछि उनको मृत्यु हुन पुग्यो । अझै सम्म मृतकको सनाखत हुन सकेको छैन ।

नारायणी पुलबाट हामफाल्ने अर्का व्यक्ति हुन्, भरतपुर महानगरपालिका वडा नम्बर ११ जागृतचोकका उदार पौडेल । २५ बर्षका पौडेलले असोज १ गते नारायणी नदिमा हाम फालेका थिए । उनी अहिले सम्म बेपत्ता छन् ।

यसरी नारायणी नदिको पुलबाट हामफाली आत्महत्या गर्नेको संख्या बढिरहेको छ । सात महिनाको अवधिको मात्र तथ्याङक हेर्दा अहिले सम्म १२ जनाले हामफालेका छन् । त्यसमध्ये ६ जनाले पुलबाट हामफालेका छन् भने, ६ विभिन्न कारणले डुवेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । त्यसमध्ये नदिबाट हाम फल्नेमा पुरुष ४ र महिला दुई जना छन् । जेठ ३१ गते राप्ती नगरपालिका ७ की २० बर्षिय कविता बसेल र पार्वतिपुरकी २२ बर्षिय विमला कुमालले असार पाँच गते नारायणी पुलबाट हाम फालेका थिए ।

यसअघि गत शनिबार पौडिएर नारायणी पार गर्न खोज्दा चितवन मेडिकल कलेजमा एमबीबीएस पढ्दै गरेका सुवर्ण केसी बेपत्ता भएका छन् । नारायणीमा हामफाल्ने मध्ये अधिकांश अझै बेपत्ता रहेका छन् । १२ जना मध्ये ६ जना नभेटिएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ । राप्ती नगरपालिकाकी २० बर्षिय कविता बसेल, सुगौली गाउँपालिकाका धर्मराज महत्तो, भरतपुर ११का उदार पौडेल, सम्झना गुरुङ, एक जना नावाल अझै बेपत्ता रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । तीन बर्षको तथ्याङ्क हेर्दा चितवनमा हामफाली आत्महत्या गर्नेको संख्या घट्ने र बढ्ने गरेको छ । आर्थिक बर्ष ०७३/०७४मा ५ जनाले हामफाली आत्महत्या गरेका छन् भने, २०७४/०७५मा तीन नाले हाम फालेका छन् । नारायणी नदिमा विहान साँढे ९ देखि साँझ ५ बजेको समयमा हाम फाल्ने गरेका छन् ।

चितवनमा विभिन्न कारणले आत्महत्या गर्नेको दर पनि बढिरहेको छ । आर्थिक बर्ष २०७४÷०७५ भन्दा गत आर्थिक बर्षमा २० जना बढिले आत्महत्या गरेका छन् । आर्थिक बर्ष २०७४/०७५मा १ सय ३९ जनाले आत्महत्या गरेकामा गत आर्थिक बर्षमा १ सय ५९ जनाले आत्महत्या गरको छन् । त्यस्तै चालु आर्थिक बर्षमा आउँदा ३७ जनाले आत्महत्या गरेका छन् । सवैभन्दा धेरैले झुण्डीएर आत्महत्या गर्ने गरेका छन् । गत आर्थिक बर्ष १ सय ३५ जनाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै बिष सेवन र हातहतियार प्रयोग गरि आत्महत्या गर्ने गरेका छन् ।

नारायणी नदिमा हाम फाल्ने क्रम दिन प्रतिदिन बढिरहेको छ । यो रोक्नका लागि प्रहरीले निगरानि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक दानबहादुर मल्लले बताए । “हाम्रो जनशक्तिले भ्याए सम्म दिउँसमा निगरानि बढाएका छौँ । यसलाई रोक्नका लागि टेक्नोलोजिबाट पनि निगरानि बढाउनका लागि भरतपुर महानगरपालिकाको सहयोगमा पुललाई ओगटने गरि सिसिटिभि क्यामेरा राखेका छौँ,” उनले भने, “देशकै केन्द्रविन्दु भएकाले पुर्वपश्चिमका बसमा आएर हाम फाल्ने गरेकाले हामीलाई चुनौति थपिएको छ ।”

पुलको दायाँबायाँ तर्फ ग्याविन वायर लगाउनुपर्ने उनले बताए । “पुलको दायाँबायाँ तीन चार फिट ग्याविन वायर लगाउने हो भने, हाम फाल्न कठिन हुन्छ,”उनले भने, “सरोकारवालाहरुले यस तर्फ ध्यान दिने हो भने आत्महत्या गर्ने दर घटाउन सकिन्छ।” चितवन जिल्लामा नारायणीको नदि बाहेक अन्य स्थानबाट हाम नफालेको उनले बताए ।