नारायणी महोत्सवमा शुक्रबार अहिलेसम्मकै धेरै दर्शकक

चितवन । नारायणगढको नदी किनारमा सञ्चालित ‘नारायणी महोत्सव २०७६’ को आज (शुक्रबार) सबैभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ सञ्चालित महोत्सवको आठौँ दिन शुक्रबार १५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए ।
शुक्रबार हरिबोधनी एकादशी समेत परेकाले तीर्थयात्राका लागि नदी किनारमा आएका भक्तालुहरु महोत्सव अवलोकन गर्दा हालसम्मकै सबैभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका राजकर्णिकारले बताए । शनिबार पनि बिदाको दिन भएका कारण दर्शकहरुको उपस्थिति राम्रै रहने आयोजकको अपेक्षा रहेको छ ।

शुक्रबार चितवनका लोकप्रिय गायक मिलन लामाले आफ्नो सांगीतिक प्रस्तुति राखेका थिए । आफ्ना चर्चित गीतहरु माझी दाइ पोखरा फेवा तालको, बेसारेको मन छैन मुख मात्रै, छम्म छम्म नाचिदेउ जस्ता गीतहरु गायर लामाले दर्शकलाई नचाउन सफल भएका थिए ।
शनिबारको सांस्कृतिक कार्यक्रममा चर्चित गायक शिव परियार, बाल गायिका कमला घिमिरेले सांगीतिक प्रस्तुति राख्ने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । त्यस्तै, शनिबार नै धुर्मुस र सुन्तलीको समेत विशेष प्रस्तुति रहेको अधिकारीको भनाइ छ । तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती भइरहेको अधिकारीले बताए ।
कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको शिक्षा दीक्षा तथा औषधिउपचारमा खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ । महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग चढ्ने व्यवस्था समेत मिलाइएको छ ।
महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।