महावीर यात्रा : गोठालोदेखि आविष्कार केन्द्रसम्म

काठमाडौं : देश विकास गर्न केही नयाँ काम गर्नुपर्छ। समाजसेवाले मात्रै देश बन्दैन। देशका लागि मैले केही न केही गर्नुपर्छ। देश विकास तथा सम्वृद्धिमा मेरो योगदान के रहन्छ। मैले कसरी सहयोग गर्न सक्छु। यस्तै–यस्तै कुरा खेलिरहन्थे आविष्कारक महावीर पुनको दिमागमा।

केही नयाँ गर्ने सुरमा भौंतारिरहन्थे। देशका लागि केही गर्ने दृढ प्रतिज्ञा गरे। फलस्वरूप सन् २०१२ मा आएर उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने निधो गरे।

केन्द्र स्थापनासँगै नाम पनि जुर्यो।

केन्द्र स्थापना गर्न बजेट आवश्यक थियो। उनले केन्द्र स्थापनामा सहयोग गर्न सरकारसँग अनुरोध गरे, साथ मागे।

तर, सरकारले सधैं आश देखाइरह्यो सहयोग भने गरेन।

हरेकपल्ट सहयोग माग्न जाँदा राम्रो सुरुवात गर्नुभएछ हामी सहयोग गर्छौं, सरकारको साथ सधैं रहने छ भन्दै भ्रममा राख्ने बाहेक केही काम भएन।

अन्त्यमा केही सीप नलागेपछि महावीरले आफ्नै बुता र केही सहयोगीमार्फत् २०१७ मा ललितपुर कुपण्डोलमा दुई कोठा भाडामा लिई ड्रोन प्रविधिबाट राष्ट्रिय आविष्कार केन्द्रको काम सुरु गरे।

mahabir 9

उनले आविष्कार केन्द्र स्थापना गर्न चारैतिर धाए। तर, जहाँ पुगे पनि र जसलाई भेटे पनि हात लाग्यो शून्य।

नेपालको विज्ञान प्रविधिमा केही नयाँ गर्ने जमर्को गरेकाले त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र (रिकास्ट) ले राष्ट्रिय आविष्कार केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध गरायो।

जग्गा व्यवस्था भए पनि केन्द्र स्थापना गर्न लागत आवश्यक थियो जुन महावीरसँग थिएन।

उनी सरकारसँग सहयोग माग्दामाग्दै थाकिसकेका थिए। सरकारको भर परेर केन्द्र स्थापना गर्न सकिँदैन भन्ने हेक्का उनलाई भयो।

पुनले देश–विदेशका सहयोगी हातलाई अपिल गरे। सहयोग संकलन भएपछि त्रिभुवन विश्वविद्यालय परिसरभित्र २०१८ जुन–जुलाईबाट आविष्कार केन्द्रको काम सुरु भयो।

mahabir 10

त्यसपछि राम्रो काम गरिरहेको भन्दै कामबाट प्रभावित भई डेनमार्कका प्रोफेसर फ्लेमिङ तोप्सेले केन्द्र निर्माण गर्न १ करोड ६० लाख रुपैयाँ सहयोग गरे।

तोप्से तथा देश विदेशमा रहेका सहयोगी मन भएकाले केन्द्रलाई सहयोग गर्न थाले। जसबाट २०१९ अक्टोबरमा औपचारिक रूपमा केन्द्र उद्घाटन भयो।

आविष्कार केन्द्र स्थापना गर्न उनले दुःखको भारी बोकेका छन्।

केन्द्र स्थापनामा जति दुःख भए पनि पुनले पीडा सहेका छन्। थुप्रै समस्यामा अवसर तथा विकास देखेका उनले केन्द्र स्थापना गरेरै छाडे।

उनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले हाल २१ वटा परियोजनामा काम गरिरहेको छ। जसमा ४९ युवा वैज्ञानिक तथा आविष्कारकले काम पाएका छन्।

mahabir 1

केन्द्रले हाल ड्रोन, इन्क्युबेटर वार्मर, बाँदर धपाउने प्रविधि, सब्जीकोठी, रिभर्स भेन्डिङ मेसिन, बस टिकट प्रविधि, सेलरोटी मेकिङ मेसिन, इलेक्ट्रिकल भेहिकल कन्भर्सन, सोलार वाटर हिटर प्रविधि, जिन्जर ड्रिंक (अदुवाको पेयपदार्थ) धुप बनाउने मेसिन, ब्याट्री रिजेनेरेसन, अनलाइन सपिङ तथा इलेक्ट्रिकल मेडिकल रेकर्डिङ सिस्टमको आविष्कार गरिसकेको छ।

त्यस्तै, केन्द्रले राजधानी बाहिर चितवनमा झिंगे माछा प्राउन फार्मिङ, रामपुरमा कुखुराको दाना बनाउने प्रविधि, पोखरामा स्कुल म्यानेजमेन्ट सफ्टवेयरलगायत विकास गरिसकेको छ।

यसबाहेक केन्द्रले गुन्द्रुक बनाउने मेसिन, जनै बनाउने मेसिन, कृषि औजार बनाउने मेसिन र धान काट्ने मेसिन बनाउन काम गरिरहेको केन्द्रका व्यवस्थापक सुनिल बानियाँले बताए।

‘मैले जीन्दगीका धेरै मोड पार गरिसकेँ। बचेका मोड आविष्कार केन्द्रको जग बसाइ विस्तार गर्नेमा निहीत हुनेछ। आविष्कार केन्द्रका सञ्चालक महावीर पुन भन्छन्, ‘समस्या र दुःख नपाएको जीन्दगी के जीन्दगी। जति धेरै समस्या तथा चुनौती हुन्छन्, त्यति धेरै सम्भावनाको ढोका खुल्छ।’

उनी आफ्नो विगतमा त्यति जान चाहँदैनन्। अहिले जे जस्तो छ, त्यो नै पुनको अहिलेसम्मको कामको प्रतिफल हो।

म्याग्दीको नागीमा २०११ सालमा जन्मेका उनको बाल्यकाल भेडाबाख्रा चराउँदै गाउँमै बित्यो।

गाउँमा बालबालिकालाई स्कुल पठाउने चलन आइसकेको थिएन। स्कुल पढ्न गए पनि किताब थिएनन्।

mahabir 4

‘२०२० सालभन्दा अघिसम्म नेपालमा पाठ्यपुस्तक थिएनन्। सात कक्षासम्म किताबबिनै पढेँ। गाउँमा पढ्नुपर्छ भन्ने कसैलाई थाहा थिएन। गाउँभरि पढ्नुपर्छ भन्ने एकजना मेरो बुवामात्रै हुनुहुन्थ्यो। उहाँको लगावले म यहाँसम्म आइपुगेको हुँ,’ महावीरले भने।

बुवाले हाइस्कुल पढाउन भनेर महावीरलाई म्याग्दीबाट चितवन ल्याए। उनी १४ वर्षको हुँदा पहिलोपटक चप्पल लगाएका थिए।

चितवनमा कक्षा ९ पढ्दामात्रै चप्पलको मजा लिएका उनलाई सुरुमा कुन चप्पल कुन खुट्टामा लाउने सिक्न समस्या भएको थियो। यो मिठो सम्झना उनको मानसपटलमा ताजै छ।

पढाइ राम्रै थियो। उनले एसएलसी पास गरे। चितवनबाट काठमाडौं आएर अमृत साइन्स क्याम्पसबाट आइएससी उत्तीर्ण गरे।

विज्ञान विषय अंगे्रजी माध्यममा पढाइने हुँदा सुरुवाती दिनमा अंग्रेजीले पुनलाई समस्यामा पारेको थियो।

उनले मेहेनत गरेर पढे। आइएससीमा रामै्र अंक ल्याएर उत्तीर्ण गरे।

घरको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि पढाइमा ब्रेक लाग्यो। उनले स्नातक पढ्न सकेनन्।

उनका बुवाले पढाउन खोजेका थिए। तर, उनी आफैंले अवस्था बुझेर भर्ना गरेनन्।

उनी चितवन गएर १३ वर्ष चारवटा हाइस्कुलमा अध्यापन गरे।

१८ वर्षमा आइएस्सी पास गरेका पुनलाई ३१ वर्षमा कलेज पढ्ने सुर चल्यो। उनी छात्रवृत्तिमा पढ्न भनेर अमेरिका हान्निए।

अमेरिका गएर नेब्रास्का विश्वविद्यालयमा स्नातक पढ्दा पुन ३३ वर्षका थिए। पटक–पटक गरी सात वर्ष अमरिका बसेका उनले त्यहाँ पढ्नेभन्दा अर्को कुनै काम गरेनन्।

स्नातक गरेपछि नेपाल फर्केका उनीसँग कुनै योजना वा सपना थिएनन्। पुन समाजसेवामा लागे।

नेपाल फर्केपछि सन् २००२ मा म्याग्दीमा तारविहीन इन्टरनेट प्रविधिको विकास गरे। त्यसभन्दा अघि नेपालका प्रमुख सहरमा मात्रै इन्टरनेट सुरु भएको थियो।

फोन गर्न पनि सर्वसाधारणले सदरमुकामसम्म धाउनुपर्ने अवस्था थियो।

महावीर अमेरिकाबाट फर्केर जन्मेको गाँउ पुग्दा पनि कुनै परिवर्तन भएको देखेनन्। केवल समस्या देखे, समस्याभित्र सम्भावना देखे।

mahabir 2

भन्छन्, ‘गाउँमा इन्टरनेट ल्याएरमात्रै फाइदा छैन। विकासका लागि रोजगारी सिर्जना गर्ने, सर्वसाधारण उद्यमी बन्नुपर्ने, प्रतिभा भएकाको पालनपोषण गर्नुपर्ने र आइडियालाई बजारीकरण गर्नुपर्ने ज्ञान प्राप्त भएपछि केन्द्रको स्थापना भएको हो।’

उनले गाउँमा शिक्षण पेसा गरी गाउँको आयस्रोत बढाउन सम्भव भएका सबै प्रयास गरे। मौरीपाल, जाम बनाउने, चौरी पाल्ने, माछा पाल्ने, नेपाली हातेकागज बनाउने, पर्यटकका लागी लज खोल्ने र चीज बनाउने जस्ता थुप्रै काम गरे।

महावीर भन्छन, ‘मैले जीन्दगीमा कुनै योजना बनाएको थिइनँ। स्रोतसाधन सम्पन्नले मात्रै योजना बनाउने हो। सम्पत्तिका नाममा आफ्नो शरीरमात्रै भएकाले के योजना बनाउनु?’

आइएससी सकेपछि इन्जिनियर बन्ने पुनको धोको थियो। तर, कलेज पढ्न नपाएपछि सपना पूरा हुन सकेनन्।

इन्जिनियर बन्ने सपना तुहिएदेखि योजना बनाउने तथा सपना देख्न बन्द गरेको महावीर बताउँछन्।

‘आविष्कार केन्द्र त्यसका लागि हो जसले नयाँ विचार उत्पादन गर्नसक्छ। जसले बजारमा बिक्न सक्ने प्रविधि विकास गर्छ,’ पुन भन्छन, ‘केन्द्र काम गर्नेका लागि प्लेटफर्म हो। केन्द्रले नयाँ विचारलाई बढावा दिई सहयोग गर्छ।’

समाजसेवामा होमिएका महावीरले थुप्रै पदक पाउनुका साथै एसियाको नोबेल पुरस्कारका रूपमा दिइने म्यागासेसे पनि प्राप्त गरिसकेका छन्।

उनले प्राप्त गरेका पदकलाई पनि अमेरिकाको सानपफ्रान्सिस सहरमा बेच्न राखेका छन्।

‘मलाई पदक तथा सम्मानको कुनै भोक छैन। मेले त्यसका लागि काम पनि गरेको होइन,’ उनी भन्छन्, ‘सम्मान तथा पदकको पैसाले आविष्कारका लागि केही सहयोग पुग्छ भनी बेच्न राखेको हुँ।’

केन्द्रले कामको प्रस्ताव हेरेर उद्यमी बन्ने सर्तमा मात्रै काम गर्न भन्छ।

परीक्षण गर्दा जे–जे आवश्यक छ त्यो सहयोग गर्नुका साथै राम्रो र गुणस्तरीय तथा बजारमा बिक्न सक्ने आइडिया आयो भने पैसाको सम्पूर्ण जिम्मेवारी केन्द्रले लिने गरेको छ।

केन्द्रले अहिले भइरहेको काममा १ देखि १६ लाखसम्म सहयोग गरेको जनाएको छ।