स्मार्टफोनमा समय बिताउने बालबालिका कमजोर हुने

एजेन्सी :  स्मार्टफोन र ट्याबलेटमा बढी समय बिताउने बालबालिकाले ढिलो भाषा सिक्ने साथै उनीहरुको पढ्ने क्षमता कमजोर हुने एक अनुसन्धानले देखाएको छ। अमेरिकास्थित सिनसिनाटी चिल्ड्रेन्स हस्पिटल मेडिकल सेन्टर स्टडीको अध्ययनमा यस्तो तथ्य भेटिएको हो। स्मार्टफोन र ट्याबलेटमा बढी समय बिताउने ३ देखि ५ वर्षसम्मका बालबालिकाको दिमागकको आकार नै परिवर्तन हुनसक्ने अध्ययनले देखाएको छ। धेरै समय स्मार्टफोन, ट्याबलेट र टिभीमा बिताउने बालबालिकाको दिमागका ‘ह्वाइट म्याटर’ भन्ने तत्व कम देखिएको जनाइएको छ। चिकित्सकका अनुसार ह्वाइट म्याटरले बालबालिकाको भाषा सिक्ने क्षमता, पढ्ने क्षमता बढाउँछ। तर धेरै समयसम्म स्मार्टफोन, ट्याबलेट र टिभीमा बिताउने बालबालिकाको ह्वाइट म्याटर कम हुन्छ। यसैकारण उनीहरु कमजोर बन्ने वैज्ञानिकहरुको तर्क रहेको छ।