मंसिर १४ गते भरतपुर र खैरहनीमा उपनिर्वाचन हुँदै, निर्वाचन कार्यालय स्थापना

प्रतिमा कुमाल
चितवन :  मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागी चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज ९बुधबार० विहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले समुद्घाटन गर्नुभएको थियो । यस्तै आज नै पूर्वी चितवनको खैरहनी नगरपालिकामा समेत निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पुरानो नगरपालिकाको भवनमा स्थापना गरिएको निर्वाचन कार्यालयको निर्वाचन अधिकृत विद्याराज पौडेलले उद्घाटन गर्नुभएको थियो ।

चितवनमा भरतपुर महानगरपालिका वडा नं।१६ को अध्यक्ष, खैरहनी नगरपालिकाको वडा नं।४ र ५ को वडा अध्यक्षका लागी उपनिर्वाचन हुन लागेको हो । भरतपुर १६ का वडाध्यक्ष चतुरमान गुरुङको क्यान्सरका कारण गत असोज १२ गते शनिबारको दिन निधन भएको थियो । खैरहनी ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र ५ का वडाध्यक्ष विश्व विजय बस्नेतको रत्ननगर नगरपालिकाको शान्त्ती चोकमा सडक दुर्घटनामा परी निधन भएको थियो । तीनै जना वडाध्यक्षको निधन पछि रिक्त रहेको पद पूर्तीका लागी उपनिर्वाचन गर्न लागीएको हो । निर्वाचनका लागी कार्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र सूची प्रकाशन गरिने छ । उम्मेदवारको विरुधमा २८ गते उजुरी दिन सक्नेकिने छ । २९ गते उजुरी उपर जाँचबुझ गरी ३० गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् भने कार्यालयले अन्तिम नामावली प्रकाशन गर्नेछ ।

मंसिर १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । १४ गते मतदाताले खैरहनी र भरतपुरको ९ वटा निर्वाचन केन्द्रबाट मतदान गर्नपाउने छन् । उपनिर्वाचनका लागी जिल्लामा तयारी तीव्र पारिएको छ । राजनीतिक दलहरुले पनि उपनिर्वाचनका लागि उम्मेद्वार घोषणा गरी सकेका छन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।