बाघमारा वनमा अध्यक्ष जीतुको नयाँ काम : मुसहर र सुकुमवासी समुदायको स्वास्थ्य बीमा

चितवन : चितवनको सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले सीमान्तकृत मुसहर र सुकुमवासी उपभोक्ताहरुको स्वास्थ्य बीमा गरेको छ । सामुदायिक वनको ८० र उपभोक्ताको २० प्रतिशत लगानीमा स्वास्थ्य बीमा गरिएको हो । रत्ननगर नगरपालिका वडा नं ७ मा रहेका मुसहर समुदायका ३२ घरधुरी र सुकुमवासी समुदायका ५२ घरधुरीका परिवारको बीमा गरेको हो । स्वास्थ्य बीमा गर्दा लाग्ने ३ हजार ५ सय रुपैया मध्य २ हजार ८ सय रुपैया सामुदायिक वनले र ७ सय रुपैया उपभोक्ताले तिर्ने गरी बीमा गरिएको अध्यक्ष जीतु तामाङले जानकारी दिए । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत रत्ननगरको सरकारी अस्पतालमा सेवा लिने गरी बीमा गरिएको उनले जानकारी दिए । मुसहर समुदायले सात सय रुपैया तिर्ने समस्या हुने भएपछि सामुदायिक वनले उनीहरुलाई काम दिएर पैसा तिरिदिएको छ । मंगलवार वनको कार्यालयमा आयोजित कार्यक्रममा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती,मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट र वनका अध्यक्ष जीतु तामाङले मुसहर र सुकुमवासी समुदायका घरमुलीलाई बीमा कार्ड हस्तान्तरण गरेका छन । सो अबसरमा वनका अध्यक्ष तामाङ उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि सामुदायिक वन सचेत रहेको बताए । स्वास्थ्य सबै भन्दा ठुलो धन हो उनले भने उपचार नपाएर विपन्न बर्गका उपभोक्ताहरुको ज्यान नजाओस भनेर बीमा गरिएको हो । उनले सामुदायिक वनले कमाएको पैसा वन संरक्षण र उपभोक्ताको आयआर्जनमा खर्च गरिने बताए । केही दिन अघि वन्यजन्तुबाट बालीनालीमा भएको क्षतिको राहत वितरण गरिएको भन्दै अध्यक्ष तामाङले आगामी दिनमा पनि उपभोक्तामैत्री कार्यक्रम गरिने बताए । उनले वनसंग आश्रित समुदायको जीवन स्तर उकास्दै उनीहरुलाई संरक्षणमा क्रियाशिल बनाउने योजना रहेको सुनाए । अध्यक्ष तामाङले उपभोक्ताको सुरक्षाको लागि आरसीसी पर्खाल निर्माण सुरु भइसकेको र स्थानीय सरकारसंगको साझेदारीमा सामुदायिक बीमा कार्यक्रम लागु गरिएको बताए । कार्यक्रममा मृगकुञ्जका अध्यक्ष बासु ढुंगानाले वनले प्रदान गरेको सेवासुविधाको अधिकतम प्रयोग गरेर उपभोक्ताहरुले आफ्नो जीवनलाई सहज बनाउनु पर्ने बताए । वडा नं ७ का वडाध्यक्ष भट्टले मुसहर समुदायमा चेतनाको अभाव रहेको भन्दै वनले प्रदान गरेको सुविधालाई अधिकतम सदुपयोग गर्नुपर्ने बताए । प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले वन जोगाए वापत प्राप्त गरेको प्रतिफललाई उपभोक्ताहरुले गर्वको रुपमा दिनुपर्ने बताए । वनका उपाध्यक्ष सीताराम महतोले स्वागत मन्तव्य राखेको सो कार्यक्रम वनका सचिव कृष्ण भट्टले सञ्चालन गरेका थिए ।