ट्रम्पविरुद्ध मानहानीको मुद्दा दायर

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी महिलाले उनीमाथि मानहानीको आरोपमा मुद्दा दायर गरेकी छन् । लेखिका ई जीन क्यारोलले ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी हुन् । ट्रम्पले आफूलाई सन् १९९५ को शरददेखि सन् १९९६ को वसन्तको अवधिमा बलात्कार गरेको आरोप ती महिलाले लगाएकी हुन् । त्यसपछि ट्रम्पले आरोप अस्वीकार गर्दै क्यारोलको निन्दा गरेका थिए । ट्रम्पले गएको जुनमा आफूमाथि लागेको आरोप अस्वीकार गर्दै क्यारोलको आलोचना गरेका थिए । क्यारोलले त्यहि बेला ट्रम्पले प्रयोग गरेको भाषा र गरेको चित्रणलाई लिएर मानहानीको मुद्दा दायर गरेकी हुन् । क्यारोलले ट्रम्पविरुद्ध न्युयोर्क राज्यको म्यानहटनस्थित अदालतमा मुद्दा दायर गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप क्यारोलले गएको जुनमा सार्वजनिक गरेकी थिइन्, त्यस सम्बन्धी खबर न्युयोर्क म्यागजिनमा प्रकाशित भएको थियो । त्यसको अर्को महिना उनको संस्मरणात्मक पुस्तक सार्वजनिक भएको थियो । क्यारोलले आफ्नो पुस्तक बिक्रीका लागि ट्रम्पमाथि झुटो आरोप लगाएको राष्ट्रपति कार्यालय ह्याइट हाउसले बताउँदै आएको छ ।