रत्ननगरका सामुदायिक विद्यालय प्राविधिक शिक्षालयमा रुपान्तरण हुँदै,बछौली माविमा सुरु भयो होटल म्यानेजमेण्ट

रत्ननगर : रत्ननगर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालय बनाउने कामले तीब्रता पाएको छ । शिक्षालाई परिणाममुखी बनाउन रत्ननगर नगरपालिकाले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गरेको हो । अहिले सम्म पाँच वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु भइसकेको छ । पछिल्लो पटक सौराहा नजिक रहेको बछौली माविमा प्राविधिक शिक्षा सुरु भएको छ ।

आइतवार रत्ननगरका मेयर नारायण वनले २४ महिने होटल व्यवस्थापन(औद्योगिक प्रशिक्षार्थी) तालिमको उद्घाटन गरे । सो अबसरमा उनले आफ्नो कार्यकालमा नगर भित्रका अधिकाँस सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सुरु गर्ने बताए । हामी शिक्षालाई सीपसंग जोड्दैछौं उनले भने शिक्षाको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरेर बजारमा पठाउने योजना छ । उनले रत्ननगरले उत्पादन गरेका विद्यार्थीहरुले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाइने बताए । प्राविधिक विषय पढन रत्ननगरै जानु पर्छ भन्ने वातावरण तयार गर्ने योजना रहेको उनको भनाई छ ।

२४ महिने होटल व्यवस्थापन तालिमको उद्घाटनसंगै बछौली माविमा प्राविधिक शिक्षाको सुरुवात भएको छ । नेपाल सरकार अन्तर्गतको सीटीइभिटीईले सो विद्यालयलाई ३ बर्षे डिप्लोमा होटल म्यानेजमेण्ट र २४ महिने होटल व्यवस्थापन तालिम सञ्चालनको लागि अनुमति प्रदान गरेको थियो । २४ महिने होटल व्यवस्थापन तालिमको लागि ३५ जना विद्यार्थीहरु भर्ना भइसकेका छन । ४० जनाको कोटा रहेकोमा १९ जना बैकल्पिक सुचीमा फारम भरेकाहरु मध्यबाट ५ जना भर्ना गरिने प्रधानाध्यापक शिवराम मरहठ्ठाले जानकारी दिए ।

२४ महिनामा साढे तीन महिना सैदान्तिक ज्ञान,साढे १८ महिना प्रयोगात्मक र एक महिना सैद्धान्तिक,प्रयोगात्मक र परीक्षा हुने प्रधानाध्यापक मरहठ्ठाले बताए । प्रयोगात्मक सिकाइका लागि विद्यालयले सौराहाका ठुलो ७ वटा होटल तथा क्षेत्रीय होटल संघ चितवनसंग सम्झौता समेत गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले जानकारी दिए । प्राविधिक शिक्षा सञ्चालनको लागि रत्ननगर नगरपालिकाले ल्याव निर्माणको लागि २५ लाख रुपैया विद्यालयलाई प्रदान गरेको छ । नगरपालिकाले नै प्राविधिक विषयको कक्षा सञ्चालनको लागि १६ लाख रुपैयाको लगानीमा दुई वटा कक्षाकोठा निर्माण गरेको छ ।

सो विद्यालयले प्राविधिक शिक्षा सञ्चालनको लागि पूर्वाधार निमार्ण गर्न २०७५ साल माघ महिनामा धान्याञ्चल लगाएको थियो । मेयर वन,आर्थिक समितिका संयोजक गोपीकृष्ण श्रेष्ठ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनाल लगायतको पहलमा बछौली माविमा प्राविधिक शिक्षा आएको हो ।