उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यसवर्षको छठ सकियो (भिडियो)

चितवन । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तरगत उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ सम्पन्न भएको छ ।

 

कात्तिक शुक्ल षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि चितवनको नारायणी नदी किनार, माडी, रत्ननगर, पदमपुर, खैरहनीलगायतका ठाउँको नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरु रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।


छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । दुलही झैं सिंगारिएको नारायणी नदी किनारमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरिरहेका छन् पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।