कालिगण्डकी नदीलाई नछेक

सम्पादकीय  : सरकारले कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउँ नदीमा खसाली रुपन्देही र कपिलवस्तमा भरपर्दो सिञ्चाइ सेवा उपलब्ध गराउन कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्धेश्यीय आयोजना अगाडि सारेको छ । कालीगण्डकी तिनाउ डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ । त्यसको केही तल पाल्पाको रम्भा र स्याङ्जाको मालुङ्गाको सीमा कालीगण्डकी तीरमा बस्नेहरुलाई भने काली डाइभर्सन बने चितवनसम्मका स्थानीयको अस्तित्व समाप्त हुने चिन्ताले सताएको छ । राम्दी तलका जनप्रतिनिधि र सरोकारवालाले कालीगण्डकी डाइभर्सन बन्न नदिन आह्वान नै गरेका छन् । कालीगण्डकी आसपासका पाल्पाको रम्भा, रामपुर, स्याङ्जाको चापाकोट, गल्याङ र तनहुँको रिसिङ गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि र सरोकारवाला समेत कालीगण्डकी डाइभर्सनको विरोधमा उत्रिएका छन् ।
सरकारले झण्डै ४० अर्ब लागतको आयोजनालाई राष्ट्रिय गौरवमा राखेको छ र डीपीआर अन्तिम चरणमा छ । कालीगण्डकी डाइभर्सन तिनाउँ हुँदै भारत लैजाने योजना भएको जानकारहरु बताउँछन् । उताको भूमि सुख्खा हुँदै गइरहेको छ, त्यसैले भारतले पानी लैजान चाहन्छ । मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी उस्तै हिसाबले बग्न दिनु पर्दछ । कालीगण्डकी डाइभर्सन गर्नु भनेको कसैको स्वार्थमा एकातर्फका सन्तानलाई मारेर अर्कोतर्फको सन्तानलाई काखी च्याप्नेमात्रै नभएर छिमेकीलाई नै सुम्पिनु भएको भन्दै सरोकारवालाहरु दुखेसो व्यक्त गर्दछन् । कालीगण्डकी डाइभर्सनले राम्दी, केलादी धामदेखि देवघाट धामसम्मका थुप्रै धार्मिक आस्था र सम्भावनाको केन्द्रलाई समाप्त गर्दछ । कालीगण्डकी एक नदीमात्र नभएर सभ्यता पनि हो । कालीगण्डकीमार्फत धार्मिक, सांस्कृति, पर्यटकीय विकासको प्रचूर सम्भावना सदुपयोग गर्दै समृद्धिको बाटोमा हिँड्ने र यसको महत्वलाई पनि बचाइराख्ने बाटोमा स्थानीय तहहरु लाग्नुपर्छ ।
कालीगण्डकीसँग जोडिएको स्याङ्जा, पाल्पा र तनहुँका स्थानीय तहले संयुक्त पर्यटकीय सम्भावना पनि खोजिरहेका छन् । देवघाटधाम, मुक्तिनाथधाम, ऋषिकेश जस्ता पवित्र धार्मिक तीर्थस्थल कालीगण्डकीको बहाव परिवर्तन गरेर अस्तित्व मेट्नेबारे नसोच्न आग्रह गरे । कालीगण्डकी नदीको बहाब परिवर्तन भए कालीगण्डकीसँग जोडिएका क्षेत्रमात्रै होइन, देशकै धर्म र आस्थामाथिको प्रहार हुन्छ । धार्मिक महत्व तथा एउटा सभ्यता र ऐतिहासिक महत्व बोकेको कालीगण्डकी सधैँ यसरी बगिरहनु पर्छ । कालीगण्डकी शीरदेखि तीरसम्म अहिलेकै अवस्थामा बग्न पाएको खण्डमा मात्रै देवघाट धामको धार्मिक र पर्यटकीय महत्व अझ बढेर जान्छ ।