मकवानपुरलाई हराउँदै चितवन सेमीफाईनल प्रवेश

चितवन । चितवन–११ ले जेसीज विकास रनिङ शिल्डमा विजयी सुरुआत गरेको छ । आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा चितवन–११ ले मकवानपुर–११ लाई ३–२ गोलअन्तगरले पराजित गरेको हो ।
पहिलो जितबाटै चितवन सेमीफाईनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा रहेको चितवनले बाईको फाइदा लिएर एकै जितबाट सेमीफाइनल पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा चितवनका तर्फबाट जर्सी नम्बर ७ का रुमेस बर्तौलाले दुई गोल गरे भने अर्को एक गोल जर्सी नम्बर ६ का अनिश श्रेष्ठले गरे । म्यान अफ दी म्याच रुमेसले पहिलो हाफको ३५ र दोस्रो हाफको पाँचौं मिनेटमा गोल गरेका हुन् । उनले नगद १० हजारसहित ट्रफी पाए । चितवनका तर्फबाट अनिसले दोस्रो हाफको २६ औं मिनेटमा गोल गरे ।
मकवानपुरका तर्फबाट जर्सी नम्बर ६ का रवि भण्डारीले दोस्रो हाफको २३ औं र जर्सी नम्बर ११ का कृष्ण रुम्बाले २७ औं मिनेटमा गोल गरे । प्रतियोगितामा दोस्रो दिन भोलि शुक्रबार नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब काठमाडौंले प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको विजेता पनि सीधै सेमीफाइनल पुग्नेछ ।