नेकपा चितवनकाे चियापानमा अध्यक्ष प्रचण्ड भन्छन् : चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियाे (भिडियो सहित)

चितवन : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेकपाको चितवन जिल्ला समितिले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको जिकिर गरे । प्रचण्डले त्यस्ता प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले जान अञ्जानमा साथ दिएको पनि उनले टिप्पाणी गरे । ‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्’ अध्यक्ष प्रचण्डले भने, ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’
प्रचण्डले रवि लामिछाने समर्थकको आन्दोलन, ज्ञानेन्द्र शाहीको अभियान र कुटपिट तथा निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा समर्थक उम्मेदवार पराजयसँगतर्फ संकेत गर्दै यसो भनेका हुन् ।
उनले पछिल्लो समयमा कम्युनिष्ट आर्दश स्खलित बनेको पनि टिप्पणी गरे । रुसी कम्युनिष्ट पार्टीको पतनको सन्र्दभ निकाल्दै अध्यक्ष प्रचण्डले अगाडि भने, ‘कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा छैन, आफै भित्र मौलाएको अराजकताबाट खतरा छ, यस्ता प्रवृत्तिहरु हावी हुन दिनुहुँदैन ।’ उनले नेकपा बिग्रिहाल्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए ।