सत्तारुढ दल नेकपा सचिवालयको बैठक सुरु, यस्ता छन् एजेण्डा

काठमाडौं :  प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो। बैठकमा सीको नेपाल भ्रमणबारे समीक्षा हुने बताइएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा राष्ट्रपति सीको नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न भएको र त्यसमा नेपालको कुटनीतिक कौशल देखिएको निष्कर्ष निकालिएको थियो। २ नेताबीच भएको छलफलमा विस्तृत समीक्षा सचिवालय बैठकमा गर्ने समझदारी भएको थियो।

सचिवालय बैठकपछि नेकपाका नेताहरु भृकुटीमण्डपमा आयोजना गरिएको चियापान कार्यक्रममा सहभागी हुनेछन्। नेकपाले दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसर पारेर आज ९बुधबार० दिउँसो चियापान कार्यक्रमको आयोजना गरेको छ।

केही सञ्चार माध्यमहरुमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको हेरफेर गर्ने समाचार सम्प्रेषण गरे पनि मन्त्री हेरफेरको एजेण्डा नभएको बुझिएको छ। राष्ट्रपति सीको नेपाल भ्रमणको महत्वलाई ओझेलमा पार्न मन्त्री परिवर्तनको हल्ला चलाइएको नेकपा स्रोत बताउँछ।