भरतपुरमा मेयर रेनुको नयाँ अभियान : सडक मानव मुक्त घोषणा गर्ने तयारी

भरतपुर । भरतपुर महानगरपालिका चाँडै सडकमानव रहित हुने भएको छ । भरतपुर महानगरपालिकालाई अभिभावक विहिन सहयोगापेक्षी सडकमानव रहित घोषणा गर्ने तयारी भइरहेको बताइएको छ । मानवसेवा आश्रमले सडकमानव रहित बनाउनको लागि नियमित पहल गर्दै आइरहेको थियो । महानगरपालिकाले केही समय अघि मात्र महानगर क्षेत्रभित्र र कार्यरत विभिन्न सरोकारवाला निकायहरूसँगको अभिभावक विहिन सहयोगापेक्षी सडकमानव मुक्त महानगर घोषणा गर्ने बारेमा पहिलो चरणको अन्तरक्रिया सम्पन्न गरिसकेको छ । यस क्षेत्रलाई बेसहारा सहयोगापेक्षी सडकमानव रहित महानगर घोषणा गराउने नीति समेत पारित भइसकेको छ ।

सडकमानव रहित बनाउनको लागि साेमबार राति ८बजेदेखि ११ बजे सम्म भरतपुर महानगरपालिकाको शहरी क्षेत्रभित्र रहेका सडकमानवहरूको अवस्था अध्ययन तथा उद्धार गरिएको छ । उद्धार तथा अवस्था अध्ययनको क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माननीय प्रदेश सभा सदस्य विजय सुवेदी, महानगरपालिकाका प्रशासकिय प्रमुख नेत्र सुवेदी, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी प्रमुख दान बहादुर मल्ल, नेपाली सेनाका प्रमुख सेनानी विज्ञान खनाल, मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्ययक्ष रामजी अधिकारी, महासचिव शुशिला के.सी., आश्रमका अभिभावक तथा अभियान्ताहरु सहभागी थिए ।  साेमबार सडकमानवहरूको उद्धार तथा रात्रीकालिन अवस्था अध्ययनको क्रममा ४० जनालाई मानवसेवा आश्रम चितवन शाखामा ल्याइएको मानव सेवा आश्रमले जनाएको छ । जसमध्ये २ जना मात्र बास्तविक सहयोगापेक्षी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका हुन् । नेपाल प्रहरी, आश्रम र महानगरपालिकाले घर परिवार भएकाहरूलाई पुन सडकमा अस्तव्यस्त जीवनशैली नविताउने शर्तमा घर फिर्ता पठाएका छन् । कतिलाई आश्रमकै गाडीमा राखेर घर घरमा पु¥याइएको छ । महानगर क्षेत्रभित्र जाँड रक्सि पिएर सडकमै अस्तवेस्त जीवन विताउनेहरूको कारण सामाजिक सुरक्षाका कायम गर्न समेक कठिक हुने प्रहरी प्रमुख दान बहादुर मल्ल बताउँछन् ।

महानगरपालिकाकी प्रमुख रेनु दहाल महानगरपालिकालाई बेसहारा अभिभावक विहिन सडकमानव रहित महानगर घोषणा गर्ने गरी आन्तरिक तयारी भएको बताउनुहुन्छ । यस कार्यमा महानगरपालिकालाई मानवसेवा आश्रमले सघाउँदै आइरहेको छ । हालसम्म मात्र मानवसेवा आश्रमको भरतपुर–१० आँखा अस्पताल नजिकै रहेको शाखाले मात्र हालसम्म भरतपुर क्षेत्रका विभिन्न स्थानबाट ५ सय बढीलाई उद्धार गरी संरक्षण दिइसकेको छ भने घोषणा पश्चात् पनि यसको कार्यन्वयनको लागि पटक – पटक प्रतिवद्धता व्यक्त गर्दै आइरहेको छ ।