दशैँमा नवलपुरका दुई सहकारीले बेचे दुई करोड ५० लाखको खसीबोका

कावासोती :  नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबँेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै रु दुई करोड ३० लाखको मूल्य बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमा किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको थियो ।

बडादशैँ शुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका बिक्री गरेको सहकारीका व्यवस्थापक सुशीला परियारले बताउनुभयो । गाउँपालिकाको पहाडी क्षेत्रका किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको उहाँले बताउनुभयो । सङ्कलन भएका खसी बोका स्थानीय बजारसँगै चितवन, पोखरा र काठमाडौँका व्यापारीले खरीद गरेको व्यवस्थापक परियारले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै खसीबोका चितवन निर्यात भएको छ । त्यसपछि पोखरा, काठमाडाँै र स्थानीय बजारमा खपत भएको उहाँले बताउनुभयो ।