सुनसरीमा दशैँको दिन श्रीमती र छोरी मारेर बोरामा शव प्याक, आफु झुण्डिए

सुनसरी  : दशैँको दिन सुनसरीको एक घरमा तीनजना मृत फेला परेका छन् । दसैँको टीकाको दिन सुनसरी–१७ स्थित घरमा राजेश शर्मा, उनकी श्रीमती पुनम र छोरी स्वस्तीका मृत भेटिएका हुन् ।

श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव बाकस र बोरामा हालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा ४२ वर्षका श्रीमानले श्रीमती र छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।

सुरुमा गाउँलेले राजेशलाई झुण्डिएको देखेपछि अस्पताल लगेका थिए । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेपछि शव घरमा लगिएको थियो र शव बेर्नका लागि कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा मृतककी श्रीमती पुनमको शव भेटिएको एसपी पोखरेलको भनाइ छ ।

६ वर्षीया छोरी स्वस्तीकाको शव पनि बोरामा हालेर मुख बाँधेको अवस्थामा फेला परेको एसपी पोखरलेलले बताए । श्रीमतीको टाउकोमा चोट छ भने छोरीको घाँटी च्यापेर हत्या गरिएको देखिएको एसपी पोखरेलको भनाइ छ ।

राति अथवा बिहान झगडा भएपछि सुरुमा श्रीमती र त्यसपछि छोरीको हत्या भएको देखिएको एसपी पोखरेलले बताए । हत्या पछि उनले शव व्यवस्थापनका लागि अधिकतम प्रयास गरेको तर सम्भव नभएपछि राजेशले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । ’

मृतक श्रीमान् श्रीमतीबीच लामो समयदेखि झगडा चलिरहेको थियो । केही समय अघि मात्रै दुवैबीच प्रहरीमा मिलापपत्र समेत भएको थियो ।