कृष्णनगर स्थित नेपाल र भारतको सीमानाका १८ घन्टा बन्द

कपिलवस्तु :  नेपाल र भारतको सीमाना कपिलवस्तुको कृष्णनगर–बढनी नाका १८ घन्टाका लागि बन्द हुने भएको छ । मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि सीमा बन्द हुने भएको हो ।

नेपालको कृष्णनगर र भारतको बढनीमा दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

गएको वर्ष दुई देशका समुदायबीच मूर्ति विर्सजनमा विवाद र झडप भएको थियो ।

सोही झडपलाई मध्यनजर गरी यो वर्ष दुई देशका प्रशासनले नै १८ घन्टाका लागि सीमा नाका बन्द गराउने निर्णय गरेको जनाएको छ ।