चाडवाडले नछुने वृद्धाश्रमकी आमा

काठमाडौं :  आएन है, आएन। छोरा आएन…।

बारम्बार टाउको हल्लाएर यसै बक्बकाइरहेकी थिइन्।

जो आउँछ सायद आफ्नै सन्तान हो कि भन्ने लाग्दो हो उनलाई।

त्यसैले त ‘आएन… आएन’ है भन्दिहुन् बारम्बार।

स्कार्फले टाउको छोपी सल ओडेकी उनलाई हेर्दा लाग्थ्यो सन्तानको मायाले छटपटाइरहेकी छिन्। सन्तान आउने आशा पालेर बसेकी छिन्।

उनका आँखा गेटतिरै थिए। केही भन्न खोजेरहेकी थिइन्। त्यो भन्दा उनीसँग अर्को कुनै शब्द नै थिएन। बस, उनका आँखाले कसैलाई खोजिरहेका थिए। कसैलाई बोलाइरहेका थिए।

आएन है भन्दा एक मनले म आएँ आमा भन्न मन लागेको थियो। तर, हिम्मत आएन। उनको आँखामा आँखा जुधाउन सकिनँ।

म अर्को पट्टी फर्किएँ, अर्को गेटबाट भित्र छिरें। उनले के सोचिन सायद उनैलाई थाहा होला।

०००

यो दृश्य हो पशुपति वृद्धाश्रमको। सबै आ–आफ्नै सुरमा आफ्नै कर्ममा व्यस्त थिए।

कोही नुहाइरहेका, कोही यताउति गरिरहेका कोही थला परेका त कोही भित्तामा झुन्ड्याइएको टेलिभिजन हेरिरहेका।

भित्तामा टाँगिएको टेलिभिजनमा रामायणको दृश्य आइरहेको थियो। सबै कुर्सीमा बसेर शान्तपूर्वक टेलिभिजन हेरिरहेका थिए। कसैले ‘उ आए भगवान हेर त’ भन्दै थिए त कसैले ‘उ अब राक्षसलाई मार्छ’।

भित्र पस्दै गर्दा कोही हाँसिरहेका थिए त कोही टेबलमा टाउको राखेर सुतिरहेका।

बाआमा नमस्कार गर्न नपाउँदै आफैं हात जोडिहाल्ने। हाँसेर स्वागत गरेजस्तो।

उनीहरूले हात जोड्दा मैले अपमान गरिरहेको छु भन्ने मनमा चिसो पस्यो।

तर, कसैको अनुहारमा देखावटी खुसी भए पनि हाँस्दा मन अलिक शान्त भयो।

पछाडि गएर कुर्सीमा बसें। केहीबेर मौन बस्दा मेरो अघि बसेकी आमाले किन आउनुभो बाबु? भनिन्। मैले त्यतिकै बस्न आएको आमा भनें।

विस्तारै कुराको सिलसिला अघि बढ्यो।

०००

‘आमा’ शब्द प्यारो लाग्दो रहेछ रामेछाप मन्थलीकी तुलमाया पुरीलाई। उनी भन्छिन्, ‘आमा भनेको मलाई धेरै मनपर्छ बाबु।’

सायद आमा भन्ने सन्तान नभएर होला। कसैले आमा बोलाउँदा उनलाई बेग्लै अनुभूति हुँदो रहेछ।

करिब ११ वर्ष भयो तुलमाया पशुपति वृद्धाश्रम बस्न थालेको।

‘मनको पीडा मनभित्रै छ, रहर थिए मरिसके, अब के हुनु,’ उनी भन्छिन्, ‘न सन्तान छ, न बुढा नै। साहारा, घर जे भने पनि यही आश्रम हो।’

त्यतिबेलाको जमाना। सानैमा विहे भयो। केही समय बुढाबूढी ढुक्कले बसेका थिए। खेतीपाती गरेर खान लाउनसम्म पुगेकै थियो। बुढाबूढीबीच खुबै प्रेम थियो। उनीहरूले आफ्नो सपनाको संसार बनाइसकेका थिए।

तर, विस्तारै सपनाको संसारमा तुवाँलो लाग्न थाल्यो। उनीहरूले सन्तान पाउन सकेनन्।

सन्तान पाउने रहर नभएको कहा हो र? उनी भन्छिन्, ‘भगवानले नचाहेपछि कसले के गर्न सक्छ? हामीले के गर्न सक्छौं?’

उनीहरूले सन्तानको चाहनामा वर्षौं बिताए, भगवानलाई पुजे। तर, त्यो चाहनामै सीमित हुन पुग्यो। सुन्दर घर बनाउने सपना तुहिए।

पुरी अहिले ७६ वर्षकी भइन्। विगत १० वर्षदेखि उनी वृद्धाश्रमको साहारामा बसेकी छिन्।

उमेर बढ्दै गयो। न सन्तान भए न सपना रहे। उनीहरूलाई विरक्त लाग्न थाल्यो। उमेर बढेपछि काम गरेर खान नसक्ने अवस्था आयो।

दुवैले गाउँ छोड्ने निधो गरे। दुवै पशुपति वृद्धाश्रममा पुगे।

आश्रममा केही वर्ष बुढाबूढी सँगै बसे। दुवै एक अर्काको साहारा थिए।

तर, केही वर्षअघि श्रीमान बिते। उनको एकमात्र साहारा पनि दैवले खोसिदियो। उनी झनै एक्ली भइन्।

उनलाई श्रीमानभन्दा अगाडि मर्ने मन थियो। ‘तर, दैवले उनैलाई लगे। एउटै साहारा थिए म भन्दा छिटो गए,’ उनले भनिन्, ‘घरपरिवार, सन्तानबिना बाँच्नु कति कठिन हुन्छ, त्यो भएकालाई के थाहा?’

पुरीका श्रीमानको किरिया भतिजाले गरेका थिए। उनी भन्छिन्, ‘कान्छो भतिजा काठमाडौंमा हुँदा कहिलेकाहीँ भेट्न आउँथ्यो। सरुवा भएपछि कहाँ हो कहाँ।’

आफन्त नातेदारले कहिल्यै फोन गर्दैनन्, भेट्न आउँदैनन्। आफ्नो सन्तान भएको भए यसरी वृद्धाश्रम आउनु नपर्ने उनले गुनासो गरिन्।

उनलाई अहिले आश्रम नै प्यारो लाग्न थालेको छ। नलागोस् पनि कसरी? एउटै साहारा आश्रम नै हो उनको।

‘बस्न खान लगाउन दिएको छ। टिभी हेर्दा बस्दा दिन बित्छ। यस्तै रहेछ जिन्दगी। राम्रो गर्ने, पाल्ने, मिठो वचन बोल्ने जिउँदो छँदा न हो, मरेपछि के काम? बाँचुन्जेल राम्रो गर्नु बाबु,’ निन्याउरो मुख लगाउँदै उनले भनिन्।

चाडवाड आउँदा उनलाई बाल्यकालको सम्झनाले सताउँछ। विवाह गरेको केही वर्षको झल्को आउँछ।

तर, आजभोलिको दसैंले छुँदैन उनलाई, केवल पीडा दिन्छ। विगतको याद फर्काउँछ। भन्छिन्, ‘केहीले छुँदैन मलाई। मेरा आशा, सपना केही बाँकी छैनन्।’

०००

पुरीको जस्तै पीडा लिएर बसेकी भेटिइन् अर्की वृद्धा। ९० वर्षकी उनले आफ्नो ठेगाना ललितपुर भएको बताइन्, तर नाम उल्लेख गर्न चाहिनन्।

‘आफ्नो दुःख बाँड्ने कसलाई रहर हुँदैन र? तर, बाँडेर घट्ने भए पो!,’ उनले गुनासो पोखिन्, ‘मेरो फाटेको छातीको व्यथाले के गर्छौं। जे भोगें, जति दुःख पाएँ मैसँग छ पीडाको भारी।’

१९ वर्ष भयो उनी वृद्धाश्रम बसेको। न घरपविार, न श्रीमान, न सन्तान।

पनौतीमा जन्मेकी उनको विहे सानै उमेरमा ललितपुरमा भएको थियो। विहे, सन्तान, श्रीमानकोे अनेकौं सपना देखेकी थिइृन्, तर सबै अपूरो रहे।

केटा पक्षका कसैले उनका बाबुलाई छोरी नदिए मार्ने धम्की दिए। दलालले पैसा खाएर उनीभन्दा धेरै बढी उमेरका लाटोसँग विहे गराइदिए।

उनका श्रीमान धेरै बाँच्न सकेनन्। केही वर्षमै उनको सिउँदोको सिन्दुर पुछियो। न सन्तान भए, न श्रीमान नै रहे।

उनी पूर्णरूपमा बेसाहारा बनिन्। पछि माइतीले बोलाए। उनी माइतमा आमाबाको स्याहार गर्न थालिन्।

आमाबाले संसार छोडेपछि उनी फेरि एक्ली बनिन्। कसैले साथ सहयोग गरेनन्। उनी साहाराको खोजीमा वृदाश्रममा पुगिन्।

भन्छिन्, ‘न सन्तान भए, न बुढाले साथ दियो। म एक्ली भएँ। जिन्दगीले धोका दियो, फुटेकै कर्म रहेछ।’

उनलाई दसैंतिहार जस्ता कुनै चाडवाडले छुँदैन। उनी भन्छिन्, ‘चाडवाड आउँछ, जान्छ। आफ्नो कोही भएको भए यसरी बस्नुपर्ने थिएन होला।’

०००

हरेक मानिसका आ–आफ्नै कथा व्यथा छन्, आफ्नै पीडा छन्। कसैले देखाउँछन् त कसैले लुकाउँछन्। वृद्धाश्रममा भेटिएका यी दुई आमाले आफ्नो कथा चाहेर पनि लुकाउन सकेका छैनन्।

आफ्नो सन्तान नहुँदाको पीडा बोकेर जिन्दगीका अन्तिम पलहरू वृद्धाश्रममा बिताइरहेका छन्। मुलुकभर चाडपर्वको उत्सव चलिरहँदा उनीहरूलाई त्यसले छोएको छैन, र अब चाडवाडमा रम्ने रहर पनि बाँकी छैनन् उनीहरूसँग…।