दशैँमा मनकामना केबलकार तीन दिन बन्द

चितवन  : गोरखाको सहिद लखन गाउँपालिका स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले संचालनमा ल्याएको मनकामना केबलकार सेवा आज (सोमबार¬)देखि बन्द गरिएकोे छ । हरेक बर्ष नेपालीहरुको महान् पर्व वडादशैँको समयमा तीन दिन बन्द गर्दै आईरहेको मकामना केबलकार सेवा आज देखि २२ गते सम्मका लागि बन्द गरिएको मनकामना दर्शन.प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले जानकारी दिनुभयो । असोज २३ गते (बिहिबार)बाट नियमित संचालनमा आउने नायव महाप्रबन्धक कायस्थले बताउनुभयो ।
चितवनको इच्छाकामना गाउँपालिका वडा न ४ कुरिनटार चेरेसमा मनकामना केबलकारको प्रवेशद्धार (बटम स्टेशन) रहेको छ । उक्त केबलकार स्टेशनमा मनकामना दर्शनका लागि जानेहरुको प्रायः सधैँ भीड नै लाग्ने गर्दछ ।
दर्शनार्थीहरुको चाप बढेसँगै केबलकारको क्षमता विस्तार गरिएको छ । अहिले केबलकारको ३४ डब्बाले यात्रु र तीन वटाले सामग्री तथा खसीबोका बोक्ने गरेको छ । मनकामना दर्शनका लागि प्रत्येक दिन औषतमा तीन हजारदेखि तीन हजार ५०० दर्शनार्थीले मनकामना केबलकार चढ्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।