मौलाकालिका मन्दिरमा महाअष्टमी अवसरमा दर्शनार्थीको घुँइचो

नवलपरासी : चितवनसंगै जोडिएको नवलपरासीको गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा आज दर्शनार्थीको घुँइचो लागेको छ । आज आज महाअष्टमीको दिन भएकाले विहानैदेखी दर्शनार्थीको घुँइचो लागेको हो । मन्दिरमा दर्शन गर्न सहज होस् भनेर दर्शनार्थीहरुलाई लाइनबद्ध रुपमा राखिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले दर्शनका लागि कुनै समस्या नभएको बताए ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको मौलाकालिका मन्दिरमा वर्षभरी नै भक्तजनको घुँइचो लाग्ने गरे पनि दशैंको बेला सबै भन्दा धेरै दर्शनार्थीको घुँइचो लाग्ने गरेको अध्यक्ष सापकोटाले बताए । शक्तिस्वरूपा मौलाकालिका भगवतीको पूजा अर्चना, उपासना गर्नाले आत्मसन्तुष्टि, आत्म आनन्दको अनुभूति हुने जनविश्वास रहेको छ ।

नेपालीहरुको महान् चाड बडादशैंको आठौं दिन महाअष्टमीमा आज बिभिन्न शक्तिपीठका साथै घर घरमा महालक्ष्मीको पुजाआजा गरि धुमधाम साथ मनाइँदैछ । आज विशेषगरी शक्तिस्वरुपा देवी महागौरीको पूजा आराधना गर्ने प्रचलन छ । घर र शक्तिपीठहरुमा महाकाली, महालक्ष्मी र महासरस्वती देवीका साथै नवदुर्गा भवानीको समेत विशेष पूजा गरिँदै छ । शक्तिको प्रतीक महागौरी देवीको पूजा आराधना गर्न बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनको भीड छ ।